८ मंसिर २०८१, शनिबार

दार्चुलाको राप्लामा खाद्यान्नको चामल डिपोसम्म पुगेन


दार्चुलाको व्याँस गाउँपालिकामा खाद्यान्नको चामल खाद्य डिपोसम्म पुग्न सकेको छैन । गाउँपालिकाको वडा २ राप्ला डिपोका लागि छुट्याएको नियमित कोटाको खाद्यन्न चामल डिपोमा नपुग्दा त्यहाँका स्थानीय समस्यामा परेका छन् ।

व्याँसकाे राप्लाका स्थानीय ऐत सिंह बुढाथोकीकाअनुसार खाद्य डिपोमा चामल नहुँदा बजारको महँगाे चामल किनेर खानुपरेको छ । राप्ला डिपोमा खाद्य संस्थानबाट पाँच सय क्विन्टल चामलको कोटा भए पनि गएको माघ महिनादेखि डिपोमा चामल सकिएको उहाँले बताउनुभयो । डिपोमा चामल नपुग्दा राप्लाका ७० देखि ८० घर परिवार प्रभावित भएका छन् ।

खेतबारीमा उत्पादन हुने अन्नले वर्षभरि खान नपुग्ने भएकाले डिपोमा चामल नआउँदा स्थानीय महँगाेमा चामल किन्न बाध्य छन् । राप्ला डिपोमा खाद्यान्नको चामल सकिएकोबारे सरोकारवाला पक्षहरूलाई जानकारी दिए पनि चामल ढुवानी नभएको स्थानीयकाे गुनासाे । अहिले उनीहरूले भारतीय बजार धार्चुला र गस्कुबाट चामल किनेर खाने गरेका छन् ।