इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र पञ्जाव किङ्ग्स खेल्दैछन् । यो खेल हैदराबादमा हुनेछ ।
हैदराबाद १३ खेलमा १५ अङ्गसहित तालिकाको तेस्रो र यसअघि नै प्लेअफ होडबाट बाहिरिएको पञ्जाब १० अङ्गसहित नवौं स्थानमा छ । आजको खेलमा हैदराबाद विजयी भएमा उसको १७ अङ्क हुनेछ ।
यस्तै बेलुका पौने आठ बजे राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच गुवाहटीमा खेल हुनेछ । कोलकाता १३ खेलमा १९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । राजस्थान १६ अङ्कसहित दोस्रो स्थानमा छ । आईपीएलको पहिलो क्वालिफायरमा पर्सि कोलकाता र अङ्कतालिकाको दोस्रो स्थानमा रहने टोली फाइनलमा पुग्न खेल्नेछन् ।
बुधवार हुने एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र तेस्रो स्थानमा रहने टोली खेल्नेछन् । यो खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न खेल्नेछ । क्वालिफायरको दोस्रो खेल शुक्रवार र फाइनल खेल आउँदो आइतवार हुनेछ ।