६ मंसिर २०८१, बिहीबार

आज विश्व दुध दिवस : झापामा मूल समारोह


आज विश्व दुध दिवस ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नाराका साथ मनाइँदैछ । देशभरबाट दैनिक ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । झण्डै ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुग्ध उत्पादन क्षेत्रमा संलग्न छन् ।

२४ औँ विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला निकाय नेपाल डेरी एसोसिएशन, केन्दीय दुग्ध सहकारी, दुग्ध विकास संस्थान (डीडीसी), पशु सेवा विभागलगायतले संयुक्त रुपमा झापामा मूल समारोह गर्दैछन् ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवम् जीविकोपार्जनमा पुर्‍याउने योगदानलाई ध्यानमा राखेर संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ तरिखदेखि विश्व दुध दिवस मनाउन शुरु गरेको हो । आम मानिसलाई दुधको उपभोग गर्न र यसबारेमा चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दुध दिवस मनाउन शुरु गरेको हो ।

पशु सेवा विभागका पशु विकास अधिकृत सिताराम वलीले नेपालमा उत्पादन हुने दुधको गुणस्तरमा कुनै समस्या नरहेको बताउनुभयो । तर दुध बेचेर किसानले पाउनुपर्ने भुक्तानीमा भने बेला बेला समस्या आउने गरेको सरोकारवाला र किसानको गुनासो छ ।