८ कार्तिक २०८३, शनिबार Saturday, October 24, 2026

यसपालि मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको मनसुनबाट प्रभावित हुन सक्ने विवरणअनुसार यसपालीको मनसुनमा १८ लाख एक हजार भन्दा धेरै मानिस प्रभावित हुने अनुमान छ ।

प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा. डिजन भट्टराईले कूल चार लाख १२ हजार घरघुरीका १८ लाख एक हजारभन्दा धेरै मानिस कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउने आँकलन गरिएको छ । यसपालिको मनसुनमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले यसपालि सरदर भन्दा धेरै पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहने आँकलन यसअघि नै सार्वजनिक गरिसकेको छ । नेपालमा जेठ अन्तिमतिर मनसुन भित्रिने र असोज मध्यसम्म रहने गर्छ । यस अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा मनसुनजन्य विपदबाट प्रभावित हुने अनुमान प्राधिकरणले गरेको छ ।

पानी धेरै पर्नु भनेको बाढी/पहिरो र डुवानका घटना बढ्नु हो । मनसुन अवधीमा बाढी, पहिरोलगायतको जोखिम बढ्ने भएकाले क्षति घटाउन तत्कालै उचित योजना बनाइ तयारीमा जुट्न विज्ञले आग्रह गर्दै आएका छन् । विपत् न्यूनीकरण, उद्धार तथा राहतका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा कमान्ड सेन्टर स्थापना गरिने प्राधिकरणले जनाएको छ ।

काठमाण्डौ, सुर्खेत, इटहरी, भरतपुर र पोखरामा हेलिकोप्टर तयारी अवस्थामा राखिनेछ । हेलिकोप्टर परिचालन कमान्ड सेन्टरको नेतृत्व नेपाली सेनाले गर्नेछ । विपत् जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र पालिकाले स्पष्ट प्रतिकार्य योजना तयार पारी विपत्को सामना गर्नुपर्ने सुझावअनुसार काम थालिएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

ताजा समाचार