काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवस मनाउन मिति २०८१ जेठ २३ गते वृक्षारोपण कार्यक्रमको आयोजना गऱ्यो ।
ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको यस विशेष वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री श्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तव सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा कैयौं राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागीता रहेको थियो । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएको थियो ।
नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले कार्यक्रममा बोल्दै भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिनुभयो । उक्त कार्यक्रममा सहभागीहरुले १५० वटा वृक्षहरु रोपेका थिए ।