७ मंसिर २०८१, शुक्रबार

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार सिंहले दाबी पेश गर्दै


मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहले दाबी पेश गर्दै हुनुहुन्छ । सप्तरी क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित सिंहलाई मुख्यमन्त्री बनाउने जनमत पार्टीले निर्णय गरेको हो ।

हिजो प्रदेशसभामा जसपा नेपालका नेता एवम् मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रवार भोलि बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

संविधानको धारा १६८ (२) मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।

आजै सिंहलाई मुख्यमन्त्री बनाउन दलले बहुमतसहित प्रदेश प्रमुखलाई दाबी पेस गर्ने दलको तयारी छ । मधेशमा जनमतको नेतृत्वमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच यसअघि नै सहमति भैसकेको छ ।

जनमतलाई २५ सिटको एमाले, ९ सिटको माओवादी, ७ सिटको एकीकृत समाजवादी तथा एक सिटका नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टी गरी ५५ मत पुग्ने आँकलन छ । मधेशमा सरकार गठनको लागि ५४ मत आवश्यक पर्छ ।