६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोसेनवर्ग काठमाण्डौमा


विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठकमा भाग लिन आज काठमाण्डौ आइपुग्नुभएको छ । काठमाण्डौमा भोलिदेखि शुरु हुने आइडा–२१ बैठकको अध्यक्षता गर्न तथा उच्चस्तरीय भेटघाटका लागि उहाँ काठमाण्डौ आउनुभएकाे विश्व बैंक समूहले जनाएको छ ।

आफ्नो पाँच दिने नेपाल भ्रमणका क्रममा वरिष्ठ प्रबन्ध निर्देशक ट्रोसेनवर्गले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न विकास साझेदारलगायतसँग भेटघाट गर्नुहुनेछ । साथै उहाँले २०७२ सालको भूकम्पपछि आइडाको सहायतामा पुनर्निर्माण भएको काभ्रेपलाञ्चोकको रविओपी क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नुहुनेछ ।

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाको बैठक अर्थात् आइडा–२१ बैठक भोलिदेखि ७ गतेसम्म काठमाण्डौमा हुँदैछ । आइडा–२१ बैठकले न्यून आय भएका राष्ट्रहरूका लागि सहुलियतपूर्ण वित्तीय स्रोत परिचालन गर्न कस्तो नीति तथा मार्गदिशा तय गर्ने भन्नेबारे छलफलसहित निष्कर्ष निकाल्नेछ ।

साथै बैठकका क्रममा विश्वव्यापी विकास लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोतहरुको सङ्कलन र नवीकरण गर्न दाता तथा ऋण लिने राष्ट्र एकै ठाउँमा बसेर छलफल गरी रणनीति तयार गर्नेछन् । यो बैठक आयोजक देशका रूपमा नेपालले कूटनीतिक लाभसमेत लिने अपेक्षा गरिएको छ ।

आइडा–२१ बैठकको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नुहुनेछ । अर्थ मन्त्रालयकाअनुसार बैठकमा ७५ देशका दुई सय जनाभन्दा धेरै व्यक्ति सहभागी हुँदैछन् । यो बैठक व्यवस्थापनका लागि अर्थ सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ ।

 

ताजा समाचार