धुलिखेल, काभ्रेपलाञ्चोक – भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा बनेको धुलिखेल अस्पतालको वार्ड भवन आज उद्घाटन गरियो। उद्घाटन समारोह भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव श्री अविनाश कुमार सिंहले गरे। कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि र समाजसेवीहरूको उपस्थिती रहेको थियो।
भारत सरकारको अनुदान सहयोगबाट निर्माण गरिएको उक्त वार्ड भवनले स्वास्थ्य सेवाको क्षेत्रमा गुणस्तरीय पूर्वाधार र राम्रो वातावरण प्रदान गर्ने छ। यो परियोजना भारत र नेपाल बीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण उदाहरणको रूपमा प्रस्तुत गरिएको छ। परियोजनाको कार्यान्वयन धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोकले गरेको हो।
उद्घाटन समारोहमा धुलिखेल नगरपालिकाका मेयर, अस्पतालका कार्यकारी निर्देशक र प्रशासनिक निर्देशकले भारत सरकारले नेपालका जनताको उत्थानमा पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।
भारत सरकारले सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ। यसका साथै, भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ एम्बुलेन्स र ३०० स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ। यस परियोजनामा काभ्रेपलाञ्चोक जिल्लालाई ८ वटा स्कुल बस र १६ वटा एम्बुलेन्स प्रदान गरिएको छ।
भारत र नेपाल बीचको नजिकको छिमेकीको सम्बन्धले व्यापक र बहुक्षेत्रीय सहकार्यलाई प्रोत्साहित गरेको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाल सरकारको पूर्वाधार विस्तारका प्रयासमा भारत सरकारको सहयोगको प्रतिबिम्बन हो।