सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर विद्युत कम्पनीका एक जना कर्मचारीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडका प्राविधिक विष्णु राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कम्पनीले सल्लेरी क्षेत्रको तार आसपासको रुख बिरुवा कटान गर्ने क्रममा राईसहित तीन जना कर्मचारीलाई करेन्ट लागेर घाइते भएका थिए । घाइतेमध्ये राईको उपचारका क्रममा ज्यान गएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यसैबीच बाजुरामा विद्युत् लाइन बिस्तारका क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको ज्यान गएको छ । बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका विष्टको अछामका बयालपाटा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।