६ मंसिर २०८१, बिहीबार

सहकारीको करोडौं रकम ठगीमा कारागारमा रहेका शर्मा र लामा सिंहदरबारभित्र समितिको बयानमा


काठमाडौं। बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको आरोपमा मुद्दाका सिलसिलामा पुर्पक्षका लागि थुनामा रहेका शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मासँग सहकारी ठगीसम्बन्धी छानबिनका लागि गठित संसदीय समितिले सोधपुछ गरेको छ।ललितपुरको नख्खु कारागारमा रहेका शर्मालाई शनिबार सिंहदरबारमा समितिले सोधपुछ गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए। समितिले सहकारी ठगी प्रकरणबारे विस्तृतमा सोधपुछ गरेको थियो।
समितिले शर्मासँगै उनकी पत्नी गीता शर्मा र कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका पूर्व अध्यक्ष सीबी लामासँग पनि सोधपुछ गरेको छ। शर्मा र लामा पनि थुनामै छन्।
बचतकर्ताको रकम जोखिममा पार्नुको कारण सोधिएको थियो। शर्माले पछिल्लो पटक देशमा देखिएको आर्थिक संकट, कोभिड संक्रमण, सहकारीको रकम जग्गामा लगानीलगायतका कारणले सहकारी समस्यामा परेको बताएका थिए।
सोधपुछका क्रममा उनीहरुले आफूहरुलाई पक्राउ नगरेको र संस्था समस्याग्रस्त घोषणा नगरेको भए बचतकर्ताको रकम फिर्ता गर्ने अवस्थामा रहेको दाबी गरेका छन्।
शिवशिखरले देशका विभिन्न जिल्लामा ३६ शाखा खोलेर ठगी गरेको खुलेको थियो। शर्मामाथि विभिन्न जिल्लामा अनुसन्धान भइरहेको छ। सहकारी ठगीमा फरार रहेका शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले भारतबाट पक्राउ गरेर ल्याएको थियो। २०८० असार १२ गतेदेखि उनी थुनामा छन्। उनी मात्र होइन सहरकारी ठगी प्रकरणमा नै उनकी श्रीमती गीता शर्मा पनि थुनामै छिन्।
शिवशिखरले १४ अर्ब रुपैयाँ हिनामिना गरेको तथ्य अहिलेसम्म बाहिरिएको छ।

को हुन् शर्मा?
केदार शर्माले २०५२ सालतिर कोहलपुरमा ढकाल किराना स्टोर सञ्चालन गरेका थिए। करिब ४ लाख रुपैयाँ लगानी गरेर खोलेको स्टोरबाट उनले फड्को मारे। त्यसको ठिक १० वर्षपछि उनले १० गुणा लगानी (४० लाख) मा काठमाडौंको नयाँ बानेश्वरमा ओम शिव स्टोर सञ्चालन गरेका थिए। दुई दशक किराना स्टोरमा बिताएका शर्माको त्यसपछिको बाटो भने सहकारीतिर मोडिएको थियो।
२०६१ देखि २०६५ सालसम्म उपकार सेभिङ एन्ड क्रेडिट प्रालि नयाँ बानेश्वरमा उनी ५ लाख रुपैयाँ सेयर लगानी गरी सञ्चालक समितिको सदस्य भएका थिए। उनले तेजबहादुर तामाङ अध्यक्ष रहेको गोर्खादीप सेभिङ एन्ड क्रेडिट लि. बागबजारमा उपाध्यक्ष समेत भई काम गरेका थिए। त्यही गोर्खा दीप सेभिङ एन्ड क्रेडिट लि. बागबजारलाई २०६६/६७ सालमा एकीकरण गरी शिखरदीप सेभिङ एन्ड क्रेडिट लिमिटेडको अध्यक्ष भए।
सहकारीको बागबजार, कमल विनायक, न्यूरोड, कीर्तिपुर, पाटन मंगलबजार शाखा थियो। उनले टोबाको इन्डष्ट्रिज सञ्चालन समेत गरे। कृषिसम्बन्धी काम गर्नका लागि शिवशिखर कृषि सहकारी संस्था संचालनमा ल्याई ८ जिल्लामा बिक्री केन्द्र स्थापना गरे। उनको कम्पनीले ३५ जिल्लाका कृषकहरूलाई कृषि औजार बिक्री गर्‍यो। त्यसपछि व्यवहार बिग्रिँदै गएर सहकारी ठगीमा लागे केदारनाथ शर्मा।