काठमाडौँ। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन्। उनले निर्वाचनमा सर्वस्वीकृतिका लागि परिस्थिति अनुकूल नरहेको स्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्।
राजीनामा पत्रमा पोख्रेलले भनेका छन्, “बाह्य सरोकारवाला पक्षहरूले सदस्यतासूची देखाएर मात्र अघिबढ्नु पर्ने अपेक्षा राख्दै गर्दा म मन खिन्न भएको छु। यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन।” उनले आफ्नो कमजोरीलाई स्वीकार गर्दै नैतिक जिम्मेवारी लिने कुरा पनि उल्लेख गरेका छन्।
पोख्रेलले मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारण अध्यक्षको सम्पूर्ण जिम्मेवारी बहन गर्न असमर्थ भएको बताएका छन्। त्यसैले, उनले कार्यवाहक अध्यक्षका रूपमा वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई जिम्मेवारी सुम्प्दै अध्यक्ष पदबाट राजीनामा दिएको जनाएका छन्।
सदस्यता विवादका कारण पत्रकार महासंघको निर्वाचन तय गरिएको कार्यतालिका अनुसार सम्पन्न हुन सकेको छैन, र हाल असोज ५ गतेको लागि पुनः तय गरिएको छ।