६ मंसिर २०८१, बिहीबार

उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत स्याङ्जाको गल्याङ नगर अस्पताल भवनको उद्घाटन


स्याङ्जा: भारत सरकारको आर्थिक सहयोगमा स्याङ्जाको गल्याङ नगरपालिकामा निर्माण गरिएको गल्याङ नगर अस्पतालको नयाँ भवन आज एक समारोहका बीच उद्घाटन गरिएको छ। कूल नेरु. ४.०१३ करोड लागतको यस परियोजना ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत सम्पन्न गरिएको हो। उद्घाटन समारोहमा भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव श्री अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, स्याङ्जाका प्रमुख श्री श्रीप्रसाद जि.टी., र गल्याङ नगरपालिकाका नगर प्रमुख श्री गुरु प्रसाद भट्टराईको उपस्थिति रहेको थियो। कार्यक्रमका सहभागीमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारी, समाजसेवी, अस्पताल व्यवस्थापनका प्रतिनिधि, चिकित्सक तथा मेडिकल स्टाफ पनि थिए।

यस परियोजनालाई भारत-नेपालबीचको उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा कार्यान्वयन गरिएको थियो। जिल्ला समन्वय समिति, स्याङ्जामार्फत सञ्चालन गरिएको यस परियोजनाले अस्पताललाई आवश्यक सुविधासहित चिकित्सकीय उपकरणहरूको व्यवस्थापन पनि गरेको छ। उद्घाटनका अवसरमा राजनीतिक प्रतिनिधिहरूले भारत सरकारद्वारा नेपालमा प्राथमिकताका क्षेत्रमा पुर्‍याइँदै आएको सहयोगको प्रशंसा गरे।

सन् २०१० मा एउटा सानो भाडाको घरमा स्थापना भएको गल्याङ सामुदायिक अस्पताललाई गल्याङ नगर अस्पतालको नाममा पुनःस्थापित गरी गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको छ। यो अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

यस नयाँ संरचनाले नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनेमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। भारत र नेपालबीच रहेको सुदृढ सम्बन्धलाई मजबुत बनाउने हेतुले उच्च प्रभाव सामुदायिक परियोजनाले विकासका विभिन्न क्षेत्रमा भारतको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको राजदूतावास द्वारा जारी विज्ञप्तिमा भनिएको छ।