२३ माघ २०८१, बुधबार

विश्‍वकप प्रिभ्यू : स्कटल्याण्डसँग खेल्दा नेपालको नजर सुपर सिक्समा


६ माघ, काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्दै छ ।

मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा स्कटल्याण्डको कप्तानमा नियाम मुइर छन् ।

१६ टोली सम्मिलित विश्‍वकपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । उक्त खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेको थिएन ।

त्यसैगरी स्कटल्याण्डले पनि पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो । यस्तोमा यस खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ । नेपाल बंगलादेशसँग ५२ रनमा तथा स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो । दुवै टोलीले यस खेलमा सुधारिएको ब्याटिङ गर्ने अपेक्षा राख्ने छन् ।

नेपालले महिला क्रिकेटमा त्यसमाथि पनि यू-१९ स्तरमा स्कटल्याण्डसँग खेल्न लागेको यो पहिलोपटक हो । यसअघि पनि विश्‍वकप खेलिसकेको स्कटल्याण्ड छनोटबाट आएको टिम हो । त्यसकारण नेपाल र स्कटल्याण्डको स्तर एउटै हुनेछ ।

सोमबार स्कटल्याण्डसँग खेल्दै गर्दा नेपालको नजर सुपर सिक्समा रहनेछ । स्कटल्याण्डलाई हराए नेपाल सुपर सिक्समा पुग्न बलियो अवस्थामा रहनेछ । यही अवस्था स्कटल्याण्डका लागि पनि हुनेछ ।

समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने भएकाले नेपाललाई एक जितले मात्र पनि सुपर सिक्समा पुर्‍याउन सक्छ । त्यसकारण बंगलादेशलाई हराउन नसके पनि नेपाल स्कटल्याण्डविरूद्ध जित चाहन्छ ।

मौसम र पिच

गत शनिबार पहिलो खेलका क्रममा पनि वर्षाको सम्भावना हुँदा केही समय मात्र हल्का वर्षा भएकाले नेपालको खेललाई असर गरेको थिएन । सोमबार बाङ्गीको मौसम शनिबारको भन्दा राम्रो हुनेछ । यद्यपी बादलले ढाकिएको अवस्था भने हुनेछ । वर्षाको सम्भावना चाहिँ कम छ ।

सोमबार पनि दिनभरजसो बादल लाग्ने अर्थात् ओभरकास्ट कन्डिशन हुने देखिएको छ । यस मैदानमा यसअघि भएका दुवै खेलमा रन बनेका छैनन् । अस्ट्रेलिया र स्कटल्याण्ड तथा बंगलादेश र नेपालबीचको खेल लो स्कोरिङ भएको थियो ।

भोलिको मौसम पनि ओभरकास्ट नै देखिएकाले बलरहरूलाई मद्दत पुग्नेछ । टस जितेमा कप्तानले बलिङ नै रोज्नेछन् ।

सुधार गर्नुपर्ने पक्ष

पहिलो खेलमा नेपालका पाँचजना ब्याटर रनआउट भएका थिए । नेपालले त्यो गल्ती सुधार गर्नुपर्ने हुन्छ । फिल्डरको हातमै बल हुँदा रनका लागि दौडनु घातक हुन्छ । त्यसैले स्ट्राइक रोटेट गर्दै कुनै पनि रिस्क नलिइकन ब्याटिङ गर्नुपर्ने छ ।

त्यस्तै नेपालले फिल्डिङमा केही रनहरू एक्स्ट्रा खर्चिएको थियो । एउटा शानदार रनआउट गरेको भएपनि फिल्डिङमा बललाई राम्रोसँग जज गरेर विपक्षी ब्याटरलाई दबाब सिर्जना गर्न सकिन्छ ।