८ माघ, काठमाडौं । पछिल्ला केही दिन सुनमाया र राममाया बुढा दिदीबहिनीका लागि विशेष रह्यो । यी दुई दिदी बहिनीले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमै चर्चा पाउने काम गरे ।
हङकङमा आयोजना भएको हङकङ १०० अल्ट्रा म्याराथनमा सुनमाया र राममाया बुढाको कोर्स रेकर्डसहित जित हात पारे । यो उनीहरूको लागि मात्र नभई नेपाली खेलकुदका लागि पनि ऐतिहासिक क्षण बनेको छ ।
एकै परिवारबाट एक नभई दुई खेलाडीले एकै प्रतियोगितामा स्वर्ण जित्नु आफैँमा गज्जबको संयोग हो । अझ त्यसमा पनि दुवैले कोर्स रेकर्डसहित कीर्तिमानी समयमा स्वर्ण जित्नु अर्को अनौठो कीर्तिमान बन्यो । एकै रेसमा कवर्स रेकर्डसहित स्वर्ण जितेर दुवैले नयाँ कीर्तिमान नै बनाए ।
दिदी सुनमाया यसअघि अल्ट्रा रेसमा विश्वमै चर्चित बनिसकेकी खेलाडी हुन् । उनी निरन्तर अन्तर्राष्ट्रिय रेसमा सहभागी हुँदै आएकी छिन् र अधिकांशमा पहिलो नै बनेकी छन् ।
बहिनी राममायाको लागि भने यो विदेशमा सहभागी भएको पहिलो अल्ट्रा रेस हो र त्यसमै उनले ऐतिहासिक स्वर्ण जितेकी हुन् । ‘एकदमै खुसी लागेको छ । अझ दिदी बहिनीले नै एकैपटक जित्नु रमाइलो संयोग भयो ।’ राममायाले अनलाइनखबरसँग भनिन् ।
हङकङ १०० अल्ट्रा म्याराथनअन्तर्गत सुरुमा भएको ५० किमिमा राममायाले महिलातर्फ कीर्तिमानी समयमा स्वर्ड जितेकी हुन् । त्यसपछि जित्ने पालो दिदी सुनमायाको थियो । उनले पनि कीर्तिमानी समयमै स्वर्ण जितिन् ।
दिदी सुनमायाले पनि दुवैजनाले एकसाथ जित्दा एकदमै रमाइलो भएको बताइन् । ‘रेस धेरै प्रतिस्पर्धात्मक थियो, तर हामी दिदी बहिनीले नै जित्दा खुसी लागेको छ ।’
जुम्लाको पातारासी गाउँपालिका– २ पेरेगाउँका जन्मिएकी यी दिदीबहिनीको उमेर अन्तर तीन वर्ष मात्र छ । स्कुलदेखि नै दौड सुरु गरेकी दुवैजना अहिले अन्तर्राष्ट्रियस्तरमै चर्चित हु पेरेगाउँकै लागि पनि खुसीको माहोल बनेको छ ।
सुनमायाको व्यवस्थापन हेर्दै आएको एसिया प्यासिफिक एड्भेन्चरले आइतबार साँझ दिदीबहिनीको फोटो पोस्ट गर्दै यो ऐतिहासिक क्षण रहेको उल्लेख गरेको छ । ‘यी दुई विशेष नेपाली महिलाहरूका लागि ऐतिहासिक सप्तान्ह । इभेन्टमा र अनलाइनमा हौसला र समर्थनको लागि सबैलाई धेरै धेरै धन्यवाद । समुदायको माया र साथले सुनमाया र राममायाका साथै नेपालका सबै प्रतिभाशाली पर्वतीय खेलाडीहरूका लागि जीवन परिवर्तन गर्ने ढोका र अवसरहरू खोल्न मद्दत गर्दछ ।’
फोटोमा बुढा दिदीबहिनीको मुस्कान निकै लोभलाग्दो थियो । जसरी दुवैले लोभलाग्दो तरिकाले स्वर्ण जितेका थिए । दिदीबहिनीले एकै प्रतियोगिताको दुई फरक इभेन्टमा स्वर्ण जितेको जित्दा निकै उत्साहित बनेका थिए ।
कर्णाली स्पोट्र्स क्लबका अध्यक्ष सरोज शाहीले दिदीबहिनीले नै कोर्स रेकर्डसहित पहिलो हुनु ऐतिहासिक उपलब्धी भएको बताए । ‘यो ऐतिहासिक क्षण नै हो । यस्तो उपलब्धी निकै कम मात्र हुन्छ,’ जुम्ला अल्ट्रा रारा म्याराथन आयोजकसमेत रहेका शाहीले अनलाइनखबरसँग भने, ‘सुनमाया त अल्ट्रा रेसमै चर्चित नै भइसकिन् । तर राममायाको अल्ट्रा ट्रेलमा रेसमा यो पहिलो सहभागिता हो र त्यसमा पनि उनले कीर्तिमान बनाइन् ।’ शाहीले राममाया ट्रयाक एण्ड फिल्डमा जमिरहेको खेलाडी भएको बताए ।
पहालमा उकालो, ओरालोदेखि समथर भू–बनोटमा दौडनुपर्ने हङकङ १०० अल्ट्रा म्याराथको रुट छिचोल्नु सहज थिएन । यसका लागि शारीरिक र मानसिक दुवैमा बलियो हुनुपर्छ र दबाबसमेत झेल्न सक्ने हुनुपर्छ । बुढा दिदीबहिनीले गरेको मिहिनेत र परिश्रमले गर्दा उनीहरू इतिहास रच्न सफल भएका हुन् ।