काठमाडौं : युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै, एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)सँगको यस सहकार्य अन्तर्गत, यो खेलले नेपाली क्रिकेट प्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट नेपालमा सबैभन्दा बढी लोकप्रिय खेलकुद मध्ये एक हो ।
यो सिरिज अन्तर्गतको खेल आज बिहिबार (माघ १७) गतेबाट त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा शुरु भएको छ । नेपाली महिला क्रिकेट टोलीलाई यस सिरिजमा समर्थन गर्न आह्वान गर्दै क्यानले सम्पूर्ण खेलहरूको प्रवेश निःशुल्क बनाएको छ ।