
२७ फागुन,काठमाडौं रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका तिर्खबहादुर बुढाथोकी (तिलक)को मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको भनेर फागुन २४ गते खबर आएपछि पारिवारिक सदस्यहरु काजकिरिया गरेका छन् ।
सुनछहरी गाउँपालिका–५ को पूर्ववडाध्यक्षसमेत उनी २०८० असोजमा रुस हिँडेका थिए । उनको घरमा एक छोरी, एक छोरा र श्रीमती छन् ।
४४ वर्षीय तिलकको मृत्युको खबर उनको परिवारलाई साथीभाइले फोन गरेर दिएको उनका आफन्तसमेत रहेका सुनछहरी गाउँपालिका वडा नं. ५ का सदस्य बेगम बुढाथोकीले बताए ।
तीर्खका जेठा दाजु खगेन्द्र बुढाथोकीका अनुसार उनी फागुन १३ गतेबाट परिवारको सम्पर्कबाहिर भएका थिए । ‘सम्पर्कबाहिर भएदेखि नै केके गरेर हुन्छ हामीले जोडिन खोजेका थियौं । पहिले कुराकानी भएका उसका साथीहरूसम्म पुग्यौं । पछि पल्टनले नै उनले सहादत प्राप्त गरेको खबर पठाएपछि हामीलाई पनि जानकारी आयो’, उनले अनलाइनखबरसँग भने ।
तीर्खको मृत्युको खबर पाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेका छन् । दाजु खगेन्द्रले अगाडि भने, ‘अवैध तरिकाले गएको मान्छे उतै हरायो । अब लास आउने बाटो पनि छैन भने आश गरेर बस्ने कुरा पनि भएन । हिजैबाट हामीले काजकिरियाको काम थालिसक्यौं ।’
तिलक द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । माओवादीको आधारभूमि त्यसमाथि नेपाली सेनामा कार्यरत रहेकाले असुरक्षा महसुस गरेर उनलाई अभिभावकले राजीनामा दिन लगाएका थिए ।
‘छोरोको चिन्ताले उनका बुवाआमाले नै जागिर छोड्न लगाउनुभयो । जागिर छोडेर केही समय गाउँमै खाली बसे’, बेगमले अनलाइनखबरसँग भने, ‘पछि घरपरिवारलाई थाहै नदिई रुस गएका थिए ।’
बेगमका अनुसार तिलक २०६३/०६४ को समयमा अवैध तरिकाले इराक जान खोजेका थिए । तर पक्राउ परेर बीचबाटोबाटै फर्किएका थिए ।
नेपाली सेनाको जागिर छाडिसकेको र वैदेशिक रोजगारीमा जाने प्रयास समेत सफल नभएपछि उनी केही समय तनावमा थिए । तर पछि कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरी गाउँमा सक्रिय राजनीति थालेका थिए ।
उनी नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सुनछहरी गाउँपालिका इन्चार्जसमेत थिए । ‘०७४ को चुनाव त जिति पनि हाले’, बेगमले भने ।
तत्कालीन समयमा ७ वटा वडा रहेको सुनछहरी गाउँपालिकामा २ वडाध्यक्षमा नेकपा एमालेले जितेको थियो । ०७९ को निर्वाचनमा पनि उनी दोहोरिन चाहेका थिए । ०७९ को चुनावमा प्रतिस्पर्धा पनि गरे तर पराजित भए । त्यसपछि उनी रुस हिँडेका थिए ।
तीर्खका आफन्त बेगमका अनुसार उनले आफू रुस जान लागेकोबारे परिवारलाई खबरसमेत गरेका थिएनन् । कामको सिलसिलामा पटक–पटक काठमाडौं गइरहने उनी त्यतैबाट रुस हिँडेको उनले बताए । ‘रुस पुगिसकेपछि मात्रै परिवारलाई जानकारी दिएका रहेछन्’, उनले भने ।
सुनछहरी गाउँपालिकाका पूर्वअध्यक्ष आशबहादुर पुन (रक्तिम)का अनुसार बुढाथोकीले परिस्थितिले गर्दा रुसी सेनामा भर्ना भएको र अवस्था जटिल रहेको बताउने गरेका थिए । उनले आफू युद्धग्रस्त युक्रेन क्षेत्रमा रहेको खुलाएका थिए । ‘अवस्था जटिल छ । के गर्ने आइहालियो । बाहिर जस्तो सुनिन्छ त्योभन्दा जटिल छ’, उनले भनेका थिए ।
दाजु खगेन्द्रका अनुसार तीर्खले रुस पुगिसकेपछि त्यहाँको अवस्थाबारे घरमा कुरा गरिरहन्थे । ‘हामीले त कुनै माध्यम छ भनेर फर्केर आइज पनि भनेको हो । तर अवैध तरिकाले गएपछि माध्यम पाउने कुरा पनि भएन, केही गर्न नसक्ने बाध्यतामा थियो’, उनले भने, ‘नआउनुपर्ने आइहालियो । अब मर्ने बाँच्ने त्यस्तै त हो भन्थ्यो ।’
तिलकलाई सहयोगी र सकारात्मक सोचको व्यक्ति भनेर स्मरण गर्छन्, गाउँपालिका पूर्वअध्यक्ष पुन । ‘उहाँ कामको मामिलामा एकदमै सकारात्मक हुनुहुन्थ्यो । हामीले मिलेर नै काम गरेका थियौं’, पुनले अनलाइनखबरसँग भने, ‘उहाँको झलझली याद आइरहेको छ ।’