२९ चैत्र २०८१, शनिबार

मकवानपुरमा भारत सरकारको सहयोगमा निर्मित माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन


मकवानपुर – भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको मकवानपुर जिल्लाको श्री जन कल्याण माध्यमिक विद्यालयको नयाँ भवन आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख श्री ललित बहादुर घलान र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री बशिष्ट नन्दनले संयुक्त रूपमा विद्यालय भवनको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ता, विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको यो परियोजनाको कुल लागत करिब नेपाली रूपैयाँ ३ करोड रहेको छ । विद्यालय भवनसहितका अन्य सम्बद्ध पूर्वाधारहरू उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को रूपमा मकवानपुरको जिल्ला समन्वय समितिको समन्वयमा कार्यान्वयन गरिएको थियो ।

श्री जन कल्याण माध्यमिक विद्यालय सन् १९६८ मा प्राथमिक विद्यालयका रूपमा स्थापना भएको हो, जसलाई सन् १९८५ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको थियो। विद्यालयमा हाल करिब ८५० विद्यार्थी अध्ययनरत छन्, जसमा ५४ प्रतिशत छात्राहरू रहेका छन् । समारोहका वक्ताहरूले भारत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस प्रकारको पूर्वाधारले विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षाको वातावरण तयार पार्नेमा विश्वास व्यक्त गरे । साथै, यसले मकवानपुर जिल्लाको शिक्षा क्षेत्रमा सकारात्मक र दीर्घकालीन प्रभाव पार्ने अपेक्षा पनि गरिएको छ ।

भारत र नेपालबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई प्रतिबिम्बित गर्दै, उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूले दुबै देशबीचको साझेदारीलाई अझ मजबुत बनाउने र नेपाल सरकारका प्राथमिकतामा आधारित विकास योजनाहरूमा भारत सरकार सधैं साथ रहने प्रतिबद्धता पुनः दोहोरिएको छ ।