२९ चैत्र २०८१, शनिबार

दैलेखको दुल्लूमा विद्यालय बहुउद्देश्यीय भवनको शिलान्यास


दैलेख, चैत्र — दैलेख जिल्लाको दुल्लू नगरपालिकामा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री श्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर श्री अविनाश कुमार सिंह तथा दुल्लू नगरपालिकाका मेयर श्री भरत प्रसाद रिजालले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

समारोहमा स्थानीय राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक अभियन्ता, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो ।

उक्त परियोजना ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदानमा नेरु ३.९ करोडको लागतमा निर्माण भइरहेको हो। बहुउद्देश्यीय भवन साढे तीन तल्ले हुनेछ, जसमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लू राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र, र अन्य सुविधा सहितको पूर्वाधार निर्माण गरिनेछ। परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) का रूपमा दुल्लू नगरपालिकामार्फत कार्यान्वयन भैरहेको छ ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री भण्डारी, मेयर रिजाल र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले भारत सरकारप्रति आभार व्यक्त गर्दै निर्माणाधीन भवनले स्थानीय समुदायलाई शिक्षाको साथसाथै सांस्कृतिक चेतनाको अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। उनीहरूका अनुसार, यो परियोजनाले दुल्लू क्षेत्रको शिक्षा र सांस्कृतिक विरासतको संरक्षण तथा प्रवर्द्धनमा दीर्घकालीन प्रभाव पार्नेछ ।

भारत सरकारले सन् २००३ यता नेपालभरि ५६३ भन्दा बढी एचआइसीडीपी परियोजनाहरूमा कार्य गरिसकेको छ, जसमा ४९५ परियोजनाहरू सम्पन्न भइसकेका छन्। तीमध्ये १५ परियोजनाहरू कर्णाली प्रदेशमा छन्। यस्तै, भारत सरकारद्वारा नेपालका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएका छन्। कर्णाली प्रदेशमा मात्र ५० वटा एम्बुलेन्स र ८ वटा स्कूल बस हस्तान्तरण गरिएका छन् ।

भारत-नेपालबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने गरी यस्ता पूर्वाधार विकासका पहलहरूले दुई देशबीचको बहुक्षेत्रीय सहकार्यलाई गहिरो बनाइरहेको स्पष्ट संकेत यो परियोजनाले दिएको छ ।