सर्मिला रोकाया, बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा १७ औं हलिया मुक्ति दिवस भव्य रुपमा सम्पन्न भएको छ । “सबै खाले कु प्रथा र विभेद विरुद्ध हाम्रो अभियान, मुक्त हलियाहरूको पूर्ण पुनःस्थापना र दिगो समाधान” भन्ने मूल नाराका साथ १७ औं हलिया मुक्ति दिवस कोल्टीमा सम्पन्न भएको हो ।
जिल्ला हलिया मुक्ति समाज बाजुराको आयोजना, राष्ट्रिय मुक्त हलिया समाज महासंघ र एक्शनएड नेपालको आर्थिक सहयोग तथा कुण्डा क्षेत्रका चार वटै पालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कोल्टी बजारमा र्याली प्रदर्शन गर्दै शिवमिलन पार्कमा कोण सभामा परिणत भएको कार्यक्रममा हलिया समुदायका प्रतिनिधि, अधिकारकर्मी, स्थानीय सरकारका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालबिर सार्की अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकाया प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै जगन्नाथ गाउँपालिकाका उपाध्यक्ष मरुकला बिष्ट, बुढीनन्दा नगरपालिका वडा नं ६ का वडाध्यक्ष गजेन्द्र बहादुर शाही विशिष्ट अतिथी रहनुभएको कार्यक्रममा दलित तथा दलित अगुवाहरुको सहभागिता रहेको कृषिमा आधारित बधुवा श्रमको अन्त्य परियोजनाका अधिकृत मंगल सार्कीले जानकारी दिनुभएको छ ।
उहाँले हलिया अभियानकर्ता कलुवा लवारले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला सल्लाहकार समिति सदस्य मनबिर लवारले स्वागत मन्तव्य राख्नुभएको बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरूले समाजमा अझै विद्यमान विभेद र कु प्रथाको अन्त्यका लागि सचेतना, एकता, र निरन्तर संघर्ष आवश्यक रहेको उल्लेख गरेका छन् । उनीहरुले सबै दलित हलिया होइनन्, र सबै हलिया दलित पनि होइनन् भन्दै यथार्थ पहिचानका लागि पालिका स्तरबाट तथ्यांक संकलन गरी नीतिगत योजना बनाउनुपर्ने सुझाव दिएका थिए ।
२०६५ भदौ २१ गते सरकारले हलिया मुक्तिको घोषणा गरेको १७ वर्ष पूरा भएको छ । सरकारले सुदूरपश्चिमका नौ र कर्णाली प्रदेशका तीन जिल्ला गरी १२ जिल्लामा रहेको हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो । हलिया मुक्तिको घोषणा भएको लामो समय भइसक्दा पनि अझै सबै मुक्त हलियाको पुनःस्थापना भने हुनसकेको छैन । उनीहरु कष्टकर जीवन जिउन बाध्य छन् ।
हलिया मुक्तिको घोषणा भएको लामो समयसम्म पनि शिक्षा, स्वास्थ्य, रोजगार तथा आयआर्जनको सहज पहुँच सुनिश्चित गर्न नसकेको हुँदा यस्ता कार्यक्रम ल्याउन सरकारसँग माग गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले विभेद अन्त्य गर्न प्रत्येक नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै “जति पनि कु प्रथा र विभेद छन्, ती सबै दण्डनीय रहेको बताउनुभयो । उहाँले मुक्त हलियाहरूको अधिकार सुनिश्चित गर्न सरकारले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
त्यस्तै बुढीनन्दा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गजेन्द्र बहादुर शाहीले गीत गाएर वा भाषण गरेर मात्रै परिवर्तन सम्भव नरहेको भन्दै, “एकता गरेर संघर्ष गर्नुपर्छ, आफैं सक्षम बन्नुपर्छ,“ भन्नुभयो । यसैगरी जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक जयलाल कार्कीले जन्म, जात, लिङ्ग र रंगका आधारमा हुने विभेदको खण्डन गर्दै, हक अधिकारको प्राप्तिका लागि निरन्तर प्रयास गर्न प्रेरणा दिनुभयो ।
१७ औं हलिया मुक्ति दिवसको अवसरमा आयोजित कार्यक्रमले मुक्त हलिया समुदायको अधिकार, पुनःस्थापना र सशक्तीकरणप्रति गम्भीर चासो राख्दै आगामी दिनमा अझ व्यापक आन्दोलन र चेतनाको आवश्यकता औंल्याएको छ । एकता, सकृयता र साझा आन्दोलनका लागि प्रतिबद्ध भएर लाग्नु पर्ने सहभागिले कार्यक्रममा जोड दिएका छन् ।