७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रुसी राष्ट्रपति पुटिनले गरेको वार्ताको प्रस्ताव अस्वीकार


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मस्कोमा वार्ताका लागि आएको प्रस्ताव अस्वीकार गर्नुभएको छ । अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा दैनिक मिसाईल आक्रमण भइरहेकोले आफू रुसको राजधानी मस्को जान नसक्ने बताउनुभएको छ ।

उहाँले रुसी राष्ट्रपति पुटिन आफैं युक्रेन आउन सक्ने विकल्प दिनुभएको छ । जेलेन्स्कीले पुटिनलाई वास्तवमा शान्ति र वार्ता चाहेको नभइ समय लम्ब्याउने खेल खेलिरहेको आरोप समेत लगाउनुभएको छ । यसअघि पुटिनले यदि जेलेन्स्की तयार भए मस्को आउन सक्ने र वार्ता हुन सक्ने बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै नेताबीच प्रत्यक्ष भेट गराउने प्राथमिकता व्यक्त गर्नुभएको छ । साथै जर्मन चान्सलर फ्रेडरिक मर्जसहितका युरोपेली नेताहरूले तत्काल द्विपक्षीय भेटवार्ता सम्भव नभएको टिप्पणी गरेका छन् । युक्रेनी विदेशमन्त्री आन्द्रिय सिबिहाले अस्ट्रिया, भ्याटिकन, स्विजरल्याण्ड, टर्कि र तीन वटा खाडी देशमा बार्ता गर्न सकिने बताउनुभएको  छ ।

यसअघि हिजो मात्रै रुसले पहिलो पटक युक्रेनी सरकारी भवनमा आक्रमण गरेको थियो । रातभरको आक्रमणमा रुसले आठ सय पाँच ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको युक्रेनको आरोप छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

ताजा समाचार