२८ मंसिर २०८२, शनिबार

युएईको कानुन, नियम, मूल्य मान्यताको पूर्ण पालना गर्न दूतावासको आग्रह


संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा रहेको नेपाली दूतावासले विभिन्न पेसा तथा व्यवसायमा युएईमा कार्यरत नेपालीलाई स्थानीय कानुन, नियम, मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

युएईमा कार्यरत नेपाली पछिल्लो समय श्रम, बैंकिङ कारोबार, सामाजिक व्यवहार, साइबर क्राइम, ट्राफिक नियम, स्वतन्त्र भिसाको दुरूपयोगमा संलग्न भएका पाइएको भन्दै दूतावासले सचेत गराएको हो । युएईले नेपालीका लागि अनौपचारिकरुपमा श्रम र भिजिट भिसा बन्द गरेको अवस्थामा दूतावासको पछिल्लो ११ बुँदे सूचना आएको हो ।

दूतावासले पासपोर्ट, इमिरेट्स कार्ड वा बैंकिङ कागजात अरूलाई नदिन, फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत अनुचित पोस्ट नगर्न, अनाधिकृत संस्था वा समूह गठन नगर्न, आपसी ऐक्यबद्धता, सद्भाव र सहकार्यका आधारमा नेपाली समुदायलाई एकताबद्ध राख्न पनि आग्रह गरेको छ । दूतावासले नियम उल्लंघन गरेमा कानुनी कारबाही भोग्नुपर्ने चेतावनी दिएको छ ।