्
अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ५३ जनाको ज्यान गएको छ । हवाईको माउइ टापुमा लागेको डढेको कारण ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ भने केही घाइते भएका छन् । त्यहाँ एक हजारभन्दा धेरै मानिस हराइरहेका अनुमान छ । माउइ पर्यटकीय टापु मानिन्छ । मङ्गलवारदेखि शुरु भएको डढेलो फैलिएको छ ।
माउइ टापुसहित हवाईको ठूलो भूभागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । त्यहाँका हजारौँ नागरिकलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । बिजुलीका पोल ढलेपछि ११ हजारभन्दा धेरै मानिस अन्धकारमा छन् ।
हवाईका गभर्नर जोस ग्रीनले धेरै वर्षपछि मानवीय क्षति भएको बताउनुभएको छ । उहाँका अनुसार एक हजार ७ सयभन्दा धेरै भवनमा क्षति पुगेको छ । ऐतिहासिक सहर लाहैनाको ८० प्रतिशत भाग प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले माउइ टापुमा लागेको डढेलोलाई ठूलो विपद् घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।