प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आधा घण्टा भएको भेटमा संसद्को भइरहेको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभएको छ ।
भेटमा राष्ट्रपति पौडेलले संसद्को भइरहेको अवरोधबारे चासो राख्नु भएको थियो । उहाँले संसद्को अवरोध खुलाउन राष्ट्रिय सभा अध्यक्ष र सभामुखले गरेका छलफलको प्रयासबारे जानकारी लिनु भएको थियो ।
भेटमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राख्नु भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर संसद् अवरोध गर्दै आइरहेको छ।