१९ माघ २०८२, आईतवार

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा विदेशी चलखेल रहेको बताएका छन् ।

थापागाउँमा मंगलबार मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोह सम्बोधनका क्रममा उनले नेपालमा छिमेकी मुलुकसँगै विश्वको शक्तिशाली देशको चलखेल रहेको बताएका हुन् ।
‘नेपाल जहाँ अवस्थित छ, एकदमै स्ट्याटिजिटिक लोकेसनमा छ । विश्वमा बहुत कम देश होलान् जो नेपालजस्तो स्ट्याटिजिटिक लोकेसनमा भएको होलान् । जहाँ दुईटा ठूला छिमेकीहरू हाम्रो उत्तर र दक्षिणमा छन्,’ कोइरालाले भने, ‘र, विश्वको शक्तिशाली देशको पनि यहाँ चलखेल छ ।’

उनले नेपालमा विदेशी चलखेल छैन भन्न नमिल्ने जिकिर गरे । ‘स्वभाविक हो, हुन्छ पनि । दुईटा छिमेकीहरूको त हुने नै भयो,’ नेता कोइरालाले भने, ‘यसलाई हामीले छैन भनेर भन्न मिल्दैन । एकदम स्वाभाविक छ यो कुराहरू ।’
विदेशीहरूमा नेपालका राजनीतिज्ञरू प्रति चासो र चिन्ता रहेको उनको भनाइ थियो । ‘उनीहरूको चासो र चिन्ता पनि छ हामीसित । चासो त छँदैछ, चिन्ता पनि त्यत्तिकै छ,’ कोइरालाले भने, ‘किनभने, हामी राजनीतिज्ञहरू जनताप्रति इमान्दार भएनौं, विदेशी शक्तिहरूसित पनि इमान्दार भएनौं । उनीहरूको सबैभन्दा ठूलो गुनासो त्यो छ ।’

विदेशी शक्तिहरूले सधैं नेपालका राजनीतिज्ञहरूलाई जनताका प्रति संवेदनशील हुन र जनताको काम राम्रोसँग गर्न भन्ने गरेको पनि कोइरालाले बताए । ‘तिमीहरू इमान्दार होउ जनताका प्रति । जनताको काम राम्रोसित गर । र, हामीहरूलाई झुक्याउने काम तिमीहरू नगर भनेर उनीहरूले सधैँ हामीहरूलाई भनिराखेका हुन्छन्,’ उनले भने ।

कोइरालाले दलका नेताहरू आफ्नो स्वार्थका लागि गलत कदमहरू चालिरहेका पनि टिप्पणी गरे । ‘हामीहरू आफ्नो स्वार्थको निम्ति, कुर्सीमा बसिरहनको निम्ति गलत कदमहरू चलाइराखेका छौं,’ उनले भने ।

नेता कोइरालाले अब बन्ने सरकारहरूले गलत कुराहरूलाई प्राथमिकतामा नराख्ने र गलत काम गर्नेहरूलाई दण्डित गर्नेमा जोड दिए । ‘अब बन्ने सरकारहरूले ती गलत कुराहरूलाई प्राथमिकतामा राख्दैनन् । गलत काम गर्नेहरूलाई दण्डित गर्छ भन्ने कुरा पनि तपाईंहरूलाई राख्न चाहन्छु,’ उनले भने, ‘ढुक्क हुनुस् यसमा । हामी गर्छौं । हामी सक्छौं । हामीमा आत्मबल छ । हामीमा विश्वास छ ।’