१९ माघ २०८२, आईतवार

१८ टन ग्यास बोकेको बुलेट राजमार्गमै दुर्घटनाको २५ घन्टापछि यातायात सुचारु


पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको बिचभागमा १८ टन ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा अवरुद्ध भएको राजमार्ग २५ घन्टापछि सुचारू भएको छ । दुर्घटनापछि ट्यांकरबाट ग्यास लिक भइरहेकाले सुरक्षाका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो ।

मंगलबार बिहान करिब साढे ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बोकेको ट्यांकर अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै ट्यांकरबाट ग्यास चुहिन थालेपछि सम्भावित विस्फोटको खतरा देखिएको र त्यसलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले राजमार्गमा सवारी आवागमन ठप्प पारेको थियाे । २५ घन्टापछि अहिले बिहानदेखि यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जानकारी  दिए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार ग्यास लिक भइरहेकाले यात्रु तथा स्थानीयवासीको सुरक्षालाई ध्यानमा राख्दै पूर्व–पश्चिम दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो । राजमार्ग अवरुद्ध भएपछि पूर्वबाट पश्चिम तथा पश्चिमबाट पूर्वतर्फ आवतजावत गर्ने हजारौँ सवारीसाधन बिचबाटोमै रोकिएका थिए ।