१९ माघ २०८२, आईतवार

बुद्ध एयरको जहाज दुर्घटनापछि रन-वे घटाएर भद्रपुर विमानस्थल सञ्चालन


काठमाडौं । भद्रपुर विमानस्थलमा शुक्रवार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ ।

विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रन–वे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमान सञ्चालन भइरहेको छ ।

रनवे छोट्याएर विमान थल सञ्चालन गरिएकोले त्यसको बारेमा जानकारी सबै पाइलटलाई नियमित रूपमा गराइँदै आएको उनले जानकारी गराए ।

‘अहिले विमानस्थल चालु छ, विमानस्थल चालु हुनलाई थोरै रिक्वारमेन्ट चाहिन्छ, हामीले हाम्रो यो जहाजको पछाडिको हाइट चाहीँ अफ–ट्रयाकल पर्न जान्छ, यसलाई मिलाउन हामीले रनवेलाई अलिकति छोटो बनाएका छौं,’ उनले भने, ‘त्यो हामी पाइलटलाई जानकारी गराउँछौँ । प्रत्येक आउने, जाने जहाजलाई भन्छौँ हामी । १५ सय मिटर हो, यो । हामीले अहिले १४ सय मिटरमा यो एयरपोर्ट चलाईराखेका छौँ । १४ सय मिटर उनीहरुलाई सफिसेन्ट हुन्छ, भनेर चलाइरहेका छौँ ।’

हाल प्रयोगमा रहेको १ हजार ४ सय मिटर रनवे जहाज सञ्चालनको लागि पर्याप्त रहेको उनको भनाइ छ । विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको उनले बताए ।

शुक्रबार राति ९ बजेर १० मिनेटमा ल्याण्ड गर्ने क्रममा जहाज रन–वेबाट बाहिर गएको थियो । मौसम सफा रहेकोले मौसमको कारण दुर्घटना नभएको उनले बताए ।

प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने उल्लेख गर्दै उनले अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने बताए ।

‘विमानस्थलको दुर्घटना ठ्याक्कै यही कारणले भएको भन्ने अनुसन्धानपछि मात्रै थाहा हुन्छ । अहिले तत्काल हेर्दाखेरि हिजो मौसमको कारणले पनि होइन, प्राविधिक कुराहरु प्राविधिकको अनुसन्धानपछि थाहा हुने कुरा भो । हाम्रो साईडबाट हेर्दा हामीले मौसमहरु हेर्ने हो । मोसम त्यतिखेर यो अवस्थामा आउने (दुर्घटना हुने) थिएन । त्यसमा केही प्राविधिक कुरा हुनसक्छ,’ उनले भने ।

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो । उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए ।

दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् ।

ाइतेमध्ये को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ ।

अन्य ६ जना यात्रुहरू भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाग्रस्त विमानलाई रन–वेबाट हटाउने कार्य भइरहेको छ ।