१९ माघ २०८२, आईतवार

भौगोलिक विविधतासँगै कला र संस्कृतिमा रहेको विविधता !


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला र संस्कृतिलाई पर्यटन विकासमा जोड्नुपर्ने बताएका छन् ।

थारु कल्याणकारिणी सभा दाङले शनिबार घोराहीमा आयोजना गरेको माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै आचार्यले कला संस्कृतिलाई आम्दानीको माध्यम बनाउन सकिने बताए।

उनले थारु समुदायका संस्कृतिहरू केवल माघ पर्वका अवसरमा मात्र सीमित नराखी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने गरी नियमित प्रदर्शनको व्यवस्था गर्नुपर्ने बताए।

थारु समुदायको कला, संस्कृति, सभ्यता र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरणका लागि थारु संग्रहालयलाई उपयोग गर्नुपर्ने धारणा उनले व्यक्त गरे।

प्रदेश सरकारको बजेटबाट बिभिन्न ठाउँमा थारु संग्रहालय निर्माण गरिएको जानकारी दिँदै उनले देशभरका थारु समुदायको भेषभूषा, संस्कृति र परम्पराबारे सिक्न सक्ने साझा केन्द्रका रूपमा संग्रहालयलाई प्रयोग गर्न आवश्यक रहेको बताए।