इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ। योसँगै उनी १ वर्ष २ महिनाको प्रशिक्षणपछि मुख्य प्रशिक्षकको भूमिकाबाट टाढिएका छन्।
उनी सन् २०२४ को नोभेम्बरमा युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। गत मेमा उनको प्रशिक्षणमा टोलीले बिल्बाओमा भएको यूईएफए युरोपा लिगको फाइनल खेलेको थियो।
अहिले युनाइटेड प्रिमियर लिगको छैठौँ स्थानमा छ। क्लबले जारी गरेको विज्ञप्तिमा क्लबको नेतृत्व बदल्ने यो नै उपयुक्त समय भएको उल्लेख छ। अहिले नेतृत्व बदलिँदा यस सिजनमा क्लबले राम्रो स्थानमा रहेर लिग सकाउने युनाइटेडको अपेक्षा छ।
क्लबले अमोरिमलाई योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ। उनको बहिर्गमनसँगै ड्यारेन फ्लेचरले बुधबार बर्न्लीविरुद्धको खेलमा प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका छन्।