बेलायतमा बालबालिकाको मोटोपन नियन्त्रण गर्न जंक फुडका टेलिभिजन र अनलाइन विज्ञापनमा सोमबारदेखि प्रतिबन्ध लगाइएको छ ।
बेलायतभर लागू हुने यस नियमले चिल्लो पदार्थ, नुन र चिनी भएका खाना तथा पेय पदार्थका विज्ञापनलाई टीभीमा बेलुका ९ बजेअघिसम्म र अनलाइनमा कुनै पनि विज्ञापन गर्न नपाउने गरी रोक लगाउने उल्लेख छ ।
जंक फुडका कारण बालबालिकाले मोटोपनाको सामना गर्नुपरिरहेको परिस्थितिमा बेलायत सरकारले यस प्रतिबन्धलाई ‘विश्वकै अग्रणी कार्य’ भनी अर्थ्याएको छ । चिल्लो पदार्थ, नुन, चिनी तथा क्यालोरीको मात्रा उच्च भएका उत्पादनलाई लक्षित गर्दै तिनका विज्ञापनहरूमाथि लगाइएको प्रतिबन्धले बच्चाहरूको आहारलाई स्वस्थकर बनाउन सहयोग पुर्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बालबालिकाको मोटोपना बढाउने मुख्य कारक मानिएका ‘सफ्ट ड्रिंक्स’, चकलेट, मिठाई, पिज्जा, आइसक्रिम जस्ता जंक फुड उत्पादनको विज्ञापनमाथि आंशिक समय रोक लगाइएको हो । फुड एन्ड ड्रिंक फेडेरेसन (एफडीएफ) ले बालबालिकाको स्वस्थ खानपानको हकको प्रत्याभूति गर्न यस्तो प्रतिबन्ध लगाउनुपरेको उल्लेख गरेको छ ।
अस्वस्थकर खानाबाहेक ‘ब्रेकफास्ट’ मा समाविष्ट केही खाद्यान्न र पोरिज, चिनीयुक्त पाउरोटी, स्यान्डविचमा पनि प्रतिबन्ध लागू हुने उल्लेख छ । कुन उत्पादनको विज्ञापनमा प्रतिबन्ध लाग्छ भन्ने निर्धारण पोषक तत्त्वको गुणस्तर र बोसो, नुन वा चिनीको मात्राका आधारमा ‘स्कोरिङ टुल’ बाट गरिने बताइएको छ ।
सादा ओट्स र अधिकांश पोरिज, म्युजली तथा ग्रानोला प्रतिबन्धमा पर्ने छैनन् भने चिनी, चकलेट वा सिरप मिसाइएका केही खाद्यान्नका विज्ञापन प्रभावित हुन सक्छन् ।
मार्केटिङ एजेन्सी ‘इनिसियल्स सिएक्स’ का ब्रान्ड रणनीतिक निर्देशक जोस टिलीका अनुसार कम्पनीहरूले आफ्ना ब्रान्डका विज्ञापन गर्न पाए पनि जंक फुडका उत्पादनको विज्ञापन भने गर्न पाउने छैनन् । ‘तर पेप्सीको लोगो वा म्याकडोनाल्डको आर्कजस्ता विज्ञापन प्रतिबन्धित हुँदैनन्,’ उनले भने ।
पछिल्लो नियमले ठूला कम्पनीहरूलाई कम प्रभावित पार्न सक्ने देखिन्छ । साना कम्पनीहरूले उत्पादनको विज्ञापनबाहेक ब्रान्ड स्थापनाका लागि विज्ञापन अभियानको खर्च धान्न नसक्ने भएकाले यस प्रतिबन्धले प्रत्यक्ष असर गर्न सक्छ । फास्ट फुड कम्पनीहरूले आफ्ना उत्पादनको विज्ञापन गर्न नपाए पनि ब्रान्ड प्रवर्द्धनका लागि भने प्रचारप्रसार गर्न सक्नेछन् ।
यस नियम उल्लंघन गर्ने कम्पनीहरूमाथि ‘एडभरटाइजिङ स्ट्यान्डर्डस् अथोरिटी’ (एएसए) ले कारबाही गर्नेछ । स्थानीय अधिकारीहरूलाई विद्यालय बाहिर स्थापना हुने फास्ट फुड पसलहरू रोक्ने अधिकार पनि दिइएको छ । एनएचएसको तथ्यांकअनुसार चार–पाँच वर्ष उमेर समूहका करिब ९.२ प्रतिशत बालबालिकामा मोटोपनको समस्या छ जुन १० जनामध्ये एकमा देखिन्छ ।