१८ माघ २०८२, शनिबार

नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि अझै तीन महिना कुर्नुपर्ने


काठमाडौँ । देशकै पहिलो आधुनिक सुरुङमार्गको रूपमा निर्माणाधीन नागढुंगा सुरुङमार्गमा सवारी साधन गुड्न अझै केही महिना कुर्नुपर्ने भएको छ । आयोजनाले आगामी चैत (मार्चको अन्तिम) सम्ममा ‘ट्रायल अप्रेसन’ सुरु गर्ने तयारी गरेको छ ।
आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भइसकेको छ भने अब २ प्रतिशत काममात्र बाँकी छ । यस्तै सुरुङको पश्चिम पोर्टलको पहिरो रोकथामको काम र सुरुङ सञ्चालन गर्ने सेवा प्रदायक छान्ने काम सँगसँगै अघि बढाइने आयोजना प्रमुख नेपालको भनाइ छ ।

उनले भने, ‘पहिरो रोकथाम र सेवा प्रदायक छान्ने काम चैतसम्म सकिने अनुमान छ । त्यसपछि मार्चको मध्य वा अन्त्यतिर (चैत महिनाभित्रमा) ट्रायल अप्रेसन सुरु गर्ने तयारी गरिरहेका छौँ ।’
यसअघि आयोजनाले अंग्रेजी नयाँ वर्ष २०२६ को जनवरी १ बाटै सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य लिएको थियो, तर टनेलको पश्चिम पोर्टलको पहिरो रोकथामको काम र सेवाप्रदायक छनोट गर्न समय लाग्ने भएपछि सञ्चालन हुन सकेको थिएन । अहिले सेवा प्रदायक छनोट गर्न आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) को म्याद थपिएको छ ।
गत कात्तिक १६ गते नागढुंगा सुरुङ सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो, तर बोलपत्र दाताले सुरुङ सञ्चालन सम्बन्धी प्रावधानमा स्पष्टता खोजेपछि सुरुङमार्ग सञ्चालन तथा मर्मत सम्भारका लागि आह्वान गरिएको बोलपत्र (टेन्डर) को म्याद पुस ३० गतेसम्मका लागि थप गरिएको छ ।
सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार बोलपत्रका कागजातमा केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले बोलपत्रदाताहरूलाई बिड सच्याउन समय दिइएको प्रमुख नेपालले जानकारी दिए ।

नेपालले भने, ‘बोलपत्र कागजातमा केही सामान्य संशोधन गर्नुपर्ने आवश्यकता देखिएकाले सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार म्याद थपिएको हो । निर्माण कम्पनीलाई बीमासम्बन्धी विषयमा दुविधा भएको रहेछ, सेवा प्रदायकले त्यहाँ काम गर्दा जनशक्ति, मेसिनको बीमा गर्ने विषयमा केही संशोधन गर्नुपर्ने भएर सार्वजनिक खरिद अनुगमन कार्यालयको सहमतिमा थपेका हौँ ।’

अब आउँदो बुधबार अर्थात् ३० गते बोलपत्र खोलिने र सेवा प्रदायक बढीमा तीन महिनाभित्र छानिने उनको भनाइ छ ।

सञ्चालकका लागि यस्तो छ मापदण्ड
सुरुङमार्ग सञ्चालनको जिम्मा पाउने कम्पनीका लागि आयोजनाले विशिष्ट मापदण्ड तोकेको छ । उक्त मापदण्डअनुसार सम्बन्धित कम्पनीसँग सुरुङ सञ्चालन गरेको कम्तीमा ३ वर्षको अनुभव हुनुपर्नेछ । यस्तै नागढुंगा सुरुङमार्गसँग मिल्दोजुल्दो अर्थात् करिब १६०० मिटर लम्बाइको सुरुङ सञ्चालन गरेको हुनुपर्नेछ ।

साथै यो अन्तर्राष्ट्रिय बोलपत्र भएकाले छनोट हुने विदेशी कम्पनीले नेपाली कम्पनीसँग अनिवार्य रूपमा संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) गर्नुपर्ने उल्लेख छ ।

यसरी छानिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालनको जिम्मा लिनुपर्नेछ । जिम्मेवारीमा सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल ट्याक्स उठाउने र सुरुङको पहुँच सडकको रेखदेखसमेत गर्नुपर्ने सर्त राखिएको छ । चौबीसै घण्टा सुरुङ सञ्चालन गर्नुपर्ने उल्लेख छ । साथै सुरुङ सञ्चालनका लागि करिब १५० जना जनशक्ति राख्नु पर्ने र त्यसमध्ये सुरुङ सञ्चालनको अनुभव भएका पाँच जना विज्ञ अनिवार्य हुनुपर्ने प्रावधान तोकिएको छ ।

यी मापदण्ड पूरा गर्ने प्राविधिक रूपमा योग्य कम्पनीले मात्र ठेक्का पाउनेछन् । यसैगरी सेवा प्रदायकले उठाएको टोल ट्याक्सको रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ । उक्त रकम सुरुङ मर्मत सम्भारका लागि खर्च गरिने छ । साथै यसको अनुगमन बोर्डले नै गर्नेछ ।

यो सुरुङमार्गमा धादिङतर्फ (पश्चिम) टोल प्लाजा निर्माण र पहिरो व्यवस्थापनको काम भइरहेको छ । २०७६ कात्तिक (२०१९ नोभेम्बर)देखि निर्माण सुरु भएको यो सुरुङमार्गको ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न गर्नुुपर्ने पहिलो म्याद २०८० वैशाख १३ गतेसम्म थियो । सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०८१ वैशाख १३ गतेसम्म म्याद थप गरिएको थियो । उक्त म्यादमा पनि सम्पन्न हुन नसकेपछि पुनः २०८२ कात्तिक ८ गते (२५ अक्टोबर २०२५) सम्मका लागि म्याद थपिएको थियो । यसबिच पहिरो रोकथामको काम र टोल प्लाजा निर्माणको काम बाँकी भएकाले २०८३ वैशाख १२ गतेसम्म थपिएको आयोजनाले जनाएको छ ।

हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरिरहेको यो सुरुङमार्ग करिब २३ अर्ब लागत रहेको परियोजनामा १७ अर्ब १५ करोड सहुलियत ऋण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले दिएको थियो । निर्माण लागत र परामर्श खर्च बढेपछि दोस्रो पटक ५ अर्ब २७ करोड रुपैयाँ थप ऋण लिइएको छ ।