१८ माघ २०८२, शनिबार

नेपाल नागरिकता चौथो संशोधन नियमावली राजपत्रमा प्रकाशित !


सरकारले नेपाल नागरिकता नियमावली २०६३ मा चौथो संशोधन पारित गरी राजपत्रमा प्रकाशित गरेसँगै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नेपाली नागरिकता प्रदान गर्ने बाटो खुलेको छ। योसँगै नागरिकता ऐन,२०६३ मा व्यवस्था गरिएको अधिकार व्यवहारमा लागू हुने भएको हो। यसअघि बाबुको नामबाट मात्रै वंशजको नागरिकता दिँइदै आएको थियो।

नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था सहज बनाउन नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन,२०८२ गत असोज ५ गते राष्ट्रपतिद्वारा प्रमाणित गरिएको थियो। सो संशोधन ऐनमा भएका व्यवस्थालाई कार्यान्वयनमा लैजान नागरिकता नियमावलीमा चौथो संशोधन गरिएको हो।

पुस ११ गते मन्त्रिपरिषदबाट स्वीकृत गरिएको नियमावली पुस २१ गते नेपाल राजपत्रमा प्रकाशन भएको छ। नियमावली कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले परिपत्र गरेको छ।