सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउड डेब्यु गरेका प्रशान्त तामाङ सोही फिल्मको छायांकन सक्काएर घरमा आराम गरिरहेका थिए । त्यसो त फुर्सदमा मात्र होइन, फुर्सद मिलाएरै उनी दिल्लीस्थित घरमा बस्ने गरेका थिए । खासगरी छोरीको हेरचाहका लागि ।
तीन वर्षकी छोरीसँग उनी बाँकी समय खेलेर बिताउथे । श्रीमती एयरहोस्टेस भएको कारण घरमा रहेर छोरीको रेखदेख गर्ने जिम्मा पनि उनकै थियो । कलाकार एवं निर्माता राजेश घतानीका अनुसार उनी छोरीलाई हम्मेसी छाड्दैनथे । यसबीचमा अनगिन्ती कार्यक्रमको अफर आए पनि अस्वीकार गर्दै बसेका थिए, छोरीकै लागि ।
‘छोरीप्रति यतिविध्न लगाव हुनुको पनि कारण छ’ घतानीले अनलाइनखबरसँग भने, ‘उनले छोरीमा आमाको प्रतिविम्ब देख्छु भन्थ्यो ।’ कोरोनाको बेला आमासँगको वियोग उनको जीवनकै सबैभन्दा ठूलो पछुतो थियो ।
त्यसबेला उनी दिल्लीमै थिए । कोरोना महाव्याधिपछि सर्वत्र ठप्प थियो । यता दार्जीलिङमा आमा बितिन्, कोरोनाले नै । प्रशान्तले आमालाई अन्तिम अवस्थामा भेट्न पाएनन् । जबकि उनी परिवारका एकमात्र छोरा थिए ।
‘परिवारप्रति त्यस्तो लगाव राख्ने र करियरका लागि पनि उत्तिकै सचेत थिए’ राजेश घतानी भन्छन्, ‘तर, उनको जीवन धेरै लामो रहेनछ ।’ दिल्लीमा छोरीसँगै बसिरहेका प्रशान्तको कार्डियक अरेष्टका कारण निधन भएको उनले बताए ।
प्रशान्त तामाङले चर्चित भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन–३ जितेर दक्षिण एसियाली संगीत क्षेत्रमा विशेष पहिचान बनाएका छन् । दार्जीलिङमा जन्मिएका तामाङ साधारण परिवारबाट आएका हुन् । गायन क्षेत्रमा प्रवेश गर्नुअघि उनी कोलकाताको प्रहरी सेवामा कार्यरत थिए, जहाँ सुरक्षाको जिम्मेवारी र संगीतप्रतिको मोहलाई सँगसँगै अघि बढाएका थिए ।
इन्डियन आइडलमा उनको यात्रा सजिलो थिएन। साधारण पहिरन, सादा स्वभाव र भावनात्मक गायन शैलीका कारण उनी छिट्टै दर्शकको मन जित्न सफल भए । उनको आवाजमा रहेको आत्मीयता, लोकभाव र भावप्रवण प्रस्तुतिले निर्णायक मात्र होइन, करोडौँ दर्शकलाई प्रभावित गर्यो । अन्ततः २००७ मा उनले उपाधि जितेपछि नेपालीभाषी समुदायमा उत्सवको माहोल बन्यो ।
यो जित केवल व्यक्तिगत सफलता मात्र थिएन, नेपाली पहिचान र प्रतिभाको अन्तर्राष्ट्रिय स्वीकारोक्ति पनि थियो। उपाधि जितेपछि प्रशान्त तामाङले हिन्दी, नेपाली तथा अन्य भाषामा गीतहरू गाए। उनले चलचित्रका लागि पनि पार्श्वगायन गरे र विभिन्न सांगीतिक कार्यक्रममार्फत दर्शकसँग निरन्तर जोडिँदै आए। पछिल्लो समय भने उनी गायनमा भन्दा फिल्ममा सक्रिय थिए । गायक तामाङले नेपाली फिल्म ‘परदेशी, गोर्खापल्टन’ लगायतमा काम पनि गरेका छन् ।
पछिल्लो समय उनले बलिउड/ओटीटीमा पनि कदम चालेका थिए । अमेजन प्राइमको पाताल लोक सिजन २ (२०२५) मा उनले स्नाइपर ड्यानियल लेचो (भिलेन) को शक्तिशाली भूमिका निर्वाह गरे, जसको प्रशंसा व्यापक रूपमा भएको थियो । प्रशान्तले सन् २०११ मा पूर्व एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए र सन् २०२२ मा छोरी आरियाको जन्मपछि परिवारसँग खुसी जीवन बिताइरहेका थिए ।
दुर्भाग्यवश, जनवरी ११, २०२६ (आज) दिल्लीस्थित आफ्नै निवासमा मात्र ४२ वर्षको उमेरमा उनको असामयिक निधन भयो। उनको यो प्रस्थानले नेपाली भाषी संगीत तथा चलचित्र जगतमा ठूलो शोक उत्पन्न गरेको छ। उनले नेपाली पहिचान र गोर्खा गौरवलाई विश्व मञ्चमा चिनाउन महत्वपूर्ण योगदान दिएका थिए। उनको सम्झना सधैं अमर रहनेछ।