१८ माघ २०८२, शनिबार

राष्ट्रपति द्वारा मकर संक्रान्तिको शुभकामना सन्देश !


राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वबाट संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक  समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। माघे संक्रान्ति एवम् माघी पर्वको शुभकामना दिँदै उनले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका बताएका हुन्।

‘यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्‌भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउनुका साथै सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्‍वास लिएको छु’ शुभकामना सन्देशमा भनिएको छ।

माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ-आफ्नै ढंगले हर्षोल्लासपूर्वक मनाउने गर्दछन्। विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउँछन्। आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रहिआएको छ। त्यस्तै घ्यू, चाकु, तरुल, तीलको लड्डु, सेलरोटी, ढिक्री र  खिचडीजस्ता परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ।