प्युठान । स्वर्ग जाने बाटो कहाँ होला ? धार्मिक आस्थाले भरिएको यो प्रश्नको उत्तर खोज्न हजारौं भक्तजन हरेक वर्ष लुम्बिनी हुँदै प्युठानको स्वर्गद्वारी यात्रामा निस्कन्छन् ।
हरियालीले ढाकिएको पहाडी भेग, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको मनमोहक दृश्य, शान्त वातावरण र श्रद्धाले भरिएको स्वर्गद्वारी साँच्चै आस्थाको यात्राका लागि अनुपम गन्तव्य हो ।
यहाँको हरियो वन, शीतल बतास, सतयुगदेखि जलिरहेको यज्ञकुण्ड, ऐतिहासिक गुफा र अखण्ड वेदपाठले आगन्तुकलाई गहिरो आध्यात्मिक ऊर्जा प्रदान गर्छ । बिहानको घामले हिमालमा फैलाउने सुनौला किरणले स्वर्गद्वारीलाई स्वर्गको प्रवेशद्वार जस्तै अनुभूति गराउँछ ।