काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिएका छन् ।
बुधबार महानगर प्रहरी बल कार्यालयमा आयोजित बैठकमा उनले सम्पूर्ण दर्जाका नगर प्रहरीलाई सार्वजनिक स्थानमा धुम्रपान नियन्त्रण गर्ने अभियान केही कमजोर देखिएको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाउँदै कारवाहीको दायरा विस्तार गर्न निर्देशन दिएका हुन् ।
जोशीले काठमाडौं महानगरका चारै क्षेत्रबाट महानगर प्रहरी सक्रिय रूपमा परिचालित रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको गुनासो नआउने गरी सेवा प्रवाह र कार्यसम्पादन गर्न निर्देशन दिए ।
सार्वजनिक व्यवस्थानलाई व्यवस्थित बनाउन फुटपाथ अतिक्रमण तथा पार्किङ व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
प्रमुख जोशीले यसअघि भएका सकारात्मक कामको निरन्तरता दिने र कमजोरी देखिएका क्षेत्रमा सुधार गर्दै महानगर प्रहरी बललाई थप व्यवस्थित, प्रभावकारी र जनमैत्री बनाइने धारणा व्यक्त गरे ।
यसअघि महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएपछि जोशीले नेतृत्व सम्हालेका हुन् । नेतृत्व सम्हालेसँगै उनले अनुशासन, सेवामूलक कार्यशैली र सार्वजनिक हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।