१७ माघ २०८२, शुक्रबार

संवाद फाउन्डेसनको दुईदिने कोर कार्यकारिणी कार्यशाला भव्य रूपमा सम्पन्न, कोर कार्यशालाले तय गर्‍यो भविष्यको रोडम्याप !


राहुल साह, चितवन

देशव्यापी सामाजिक संवाद, सहकार्य र सृजनात्मक एकतालाई अझ सुदृढ बनाउने उद्देश्यसहित संवाद फाउन्डेसनले आयोजना गरेको कोर कार्यकारिणी कार्यशाला तथा भेटघाट कार्यक्रम अत्यन्तै सफल, ऊर्जाशील र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ। चितवनमा दुई दिनसम्म सञ्चालन भएको यस कार्यक्रमले संवाद फाउन्डेसनको भविष्यदृष्टि, लक्ष्य र संगठनात्मक एकतालाई थप मजबुत बनाएको छ ।

देशभरका सबै जिल्ला तथा प्रदेशबाट आएका सदस्य तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा आपसी चिनजान, अनुभव आदान–प्रदान, संगठनात्मक समीक्षा र भावी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

कार्यक्रमलाई दिपिका शर्मा (संवाद भरतपुर) र विक्रम बी.के. (संवाद लुम्बिनीले ) अत्यन्तै सशक्त, अनुशासित र आकर्षक शैलीमा सञ्चालन गर्नुभयो। उहाँहरूको ऊर्जाशील प्रस्तुति र व्यवस्थित सञ्चालनले सम्पूर्ण कार्यक्रमलाई जीवन्त बनाएको सहभागीहरूले बताए ।

 

कार्यक्रमको उद्घाटन सत्र कार्यक्रम सभापति तथा संवाद फाउन्डेसनका संस्थापक अध्यक्ष श्री कुमार भास्करज्यूको अध्यक्षतामा सम्पन्न भयो ।

प्रमुख अतिथिको रुपमा –श्री बिपिन स्थापित, अध्यक्ष – अडियो भिडियो सोसाइटी नेपाल,

विशेष अतिथिअतिथिहरु

 बसन्त गौतम – सह-संयोजक, संवाद फाउन्डेसन

सन्तिम कोइराला – गायक तथा संगीतकार

मणिरत्न त्रिपाठी – सचिव, अडियो भिडियो सोसाइटी नेपाल

डायमण्ड आचार्य – COO, जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

 

कार्यक्रम राष्ट्रिय गानबाट सुरु भई ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो। औपचारिक उद्घाटनका लागि सभापति, प्रमुख अतिथि तथा अतिथिहरूले बिरुवामा पानी हालेर कार्यक्रमको सुरुवात गर्नुभयो, जसले विकास, सद्भाव र दिगोपनको सन्देश प्रवाह गर्‍यो।

आयोजक जिल्लाका संयोजक श्री सञ्जय मण्डलले देशभरबाट आउनुभएका जिल्ला तथा प्रदेश कोर सदस्यहरूलाई हार्दिक स्वागत गर्दै संवाद फाउन्डेसनको एकतामा यस्ता कार्यक्रमहरूको महत्वबारे प्रकाश पार्नुभयो।

 

सहयोग समितिद्वारा सहभागी सदस्यहरूलाई रुद्राक्ष माला लगाइ सम्मानपूर्वक स्वागत गरिएको थियो।

 

कार्यक्रममा उपस्थित प्रत्येक जिल्ला र प्रदेशका प्रतिष्ठित प्रतिनिधिहरूले आफ्नो परिचय प्रस्तुत गर्दै संगठनभित्रको आत्मीयता, आपसी समझदारी र सहकार्यलाई थप बलियो बनाएका थिए। यस सत्रले संवाद फाउन्डेसनलाई साँच्चिकै राष्ट्रिय नेटवर्कको रूपमा उभ्याएको अनुभूति गरायो।

प्रत्येक जिल्लाका प्रतिनिधिहरूले आफ्ना जिल्लामा सञ्चालित कार्यक्रम, उपलब्धि, चुनौती, चलिरहेका पहल तथा स्थानीय प्रभावबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे। यसले फाउन्डेसनको जरा–स्तरसम्मको सक्रियता र प्रभावलाई स्पष्ट रूपमा उजागर गर्‍यो।

 

कार्यक्रममा छ समूहमा विभाजन गरी अन्तरक्रियात्मक खेल सत्र सञ्चालन गरियो, जहाँ सबै सदस्यहरूको उत्साहजनक सहभागिता देखियो। यस सत्रले टिमवर्क, विश्वास र आपसी मित्रतालाई थप मजबुत बनायो।

 

काकार्यक्रम सभापति श्री कुमार भास्करज्यूले संवाद फाउन्डेसनको दृष्टिकोण, मूल भावना, कार्यशैली र भविष्यमा अझ बलियो बनाउने रणनीतिहरूबारे गहिरो र प्रेरणादायी प्रस्तुति दिनुभयो।

 

त्यसपछि आयोजित खुला छलफल सत्रमा सहभागीहरूले स्वतन्त्र रूपमा आफ्ना विचार, सुझाव र रचनात्मक धारणा राखे। यस छलफलले संगठनलाई अझ समावेशी, पारदर्शी र प्रभावकारी बनाउने मार्गचित्र तयार गर्न सहयोग पुर्‍यायो।

चितवनमा सम्पन्न दुईदिने यो कोर कार्यकारिणी कार्यशाला तथा भेटघाट कार्यक्रम संवाद फाउन्डेसनको इतिहासमा एक महत्वपूर्ण माइलस्टोनका रूपमा स्थापित भएको छ। संगठनभित्रको एकता, स्पष्ट दृष्टि र सामूहिक ऊर्जा देख्दा संवाद फाउन्डेसनले आगामी दिनमा राष्ट्रिय स्तरमा अझ प्रभावशाली भूमिका खेल्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।