७ मंसिर २०८१, शुक्रबार

‘नेपाल–भारत लिटरेचर फेस्टिभल’ अन्तर्गत ‘पुस्तक विमोचन तथा छलफल’


काठमाडौंस्थित भारतीय राजदूतावासले ‘नेपाल–भारत लिटरेचर फेस्टिभल’ अन्तर्गत नेपाल–भारत पुस्तकालयमा ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम आयोजना गरेको छ ।

बीपी कोइराला फाउण्डेशनको सहकार्यमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल मे हिन्दी’ को विमोचन गरिएको छ । सो कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालले विमोचन गरेका थिए ।

नेपालका वरिष्ठ कवि श्री स्नेह सायमी र राजेन्द्र शलभले नेपालीबाट हिन्दीमा अनुवाद गरेको नेपाली कविता संग्रह ‘उजलेको रंग’ र श्री स्नेह सायमीको नेपाली कविता संग्रह ‘चश्मा र एकको वार्ता’ बारे छलफल भएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका हिन्दी प्राध्यापक डा. श्वेता दीप्ती, प्रख्यात कवि श्री विधान आचार्य र वरिष्ठ साहित्यकार डा रामदयाल राकेशले आफ्नो विचार राखेका थिए ।

प्रमुख अतिथि गिरीशचन्द्र लालले आफ्नो सम्बोधनमा नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धमा दुवै देशको साझा संस्कृति र भाषाको महत्वलाई प्रकाश पारेका थिए ।

कार्यक्रममा साहित्यकार, शिक्षक, भाषाविद् तथा साहित्यप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।