४ कार्तिक २०८३, मंगलवार Tuesday, October 20, 2026

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता


 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) अबको केहीबेरमा प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

उनी प्रधानमन्त्री हुने भएसँगै सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो बनाइएको छ । प्रहरी प्रधान कार्यालयले बालेनको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को रुपमा प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेश बस्याललाई खटाउने निर्णय गरेको छ ।

डीएसपी बस्याल तिनै अधिकृत हुन् जो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका थिए । उनी जिल्ला प्रहरी परिसरको मुद्दा शाखामा इन्स्पेक्टर रहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन एसएसपी (हाल सीआईबी)का एआईजी डा मनोज केसीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई पक्राउ गरेर थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाएका थिए ।

त्यतिबेला परिसरको प्रमुखको रुपमा हालका आईजीपी दानबहादुर कार्की थिए । अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेपछि मुद्दा प्रक्रियाका लागि आवश्यक पर्ने बाँकी काम परिसरबाट भएको थियो ।

यही नक्कली भुटानी काण्डको अनुसन्धान र मुद्दा प्रक्रियामा डीएसपी बस्याल प्रत्यक्ष जोडिएर काम गरेका थिए । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकिएपछि उनी डीएसपीमा बढुवा भएका थिए ।

प्रहरीभित्र बस्याललाई इमान्दर प्रहरी अधिकृतको रुपमा चिनिन्छ ।

ताजा समाचार