आजको प्रारम्भिक कारोबारका क्रममा बजार घट्नुको प्रमुख कारण नै नाफा बुक रहेको सम्बद्ध जानकार बताउँछन् । गत साता ७३ अंक बढेको थियो । गत साता मात्रै होइन, समग्र विगत एक महिनामा बजार २७७ अंक अर्थात् १०.३६ प्रतिशत बढेको छ ।
गत फागुन १७ गते नेप्से परिसूचक २६७३ अंकमा थियो भने आज आइतबार बजार २९५० अंकबाट खुलेको हो । ‘कतिपयले बेच्नका लागि पनि उपयुक्त समय पर्खिएका हुन्छन्, नयाँ सरकार बनेको मौकामा धेरै परिमाणमा सहज रुपमा बेच्न सकिने भएकाले त्यो मौका सदुपयोग भएको हुन सक्छ’ एक ब्रोकर कम्पनीका सञ्चालकले भने ।
विगतमा पनि यस्ता घटनाक्रम हुने गरेको ब्रोकर सञ्चालकहरु बताउँछन् । ‘बजार जहिले पनि एक कदम अगाडि हुन्छ, केही नयाँ परिवर्तन हुनुभन्दा पहिले नै सोअनुसार प्रतिक्रिया जनाउने गर्छ, तर परिवर्तन भएको हुन्छ, त्यसपछि बजारले उल्टो प्रतिक्रिया जनादिएका विगतमा पनि देखिन्छ’ ती सञ्चालकले भने ।
अर्कोतर्फ नयाँ सरकार बनेसँगै धरपकड बढेकाले सडक तातिएको छ । यसले पनि मनोविज्ञानमा केही असर परेको जानकार बताउँछन् । ‘पुराना राजनीतिक दलका नेता पक्राउ पर्नु र ती दलका संगठनले विरोध प्रदर्शन चर्काउन सक्ने डरले पनि बजारमा केही नकारात्मक प्रभाव देखिएको हो’ उनले भने ।
हालै नेप्सेले मार्जिन कारोबारका लागि समेत कार्यप्रक्रिया समेत तयार गरेको छ । यसले पनि आइतबारको बजारलाई सकारात्मक प्रतिक्रिया जनाउन सक्ने अनुमान थियो । तर बजारको प्रारम्भिक कारोबारले भने अन्तिम समयसम्म ओरालोमै रहने संकेत देखाएको छ ।