४ जेष्ठ २०८३, सोमबार

शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित


आइसिसी विश्वकप लिग-२ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डमाथि नेपालले विजय हासिल गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा सोमबार नेपालले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित निकालेको हो। १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा पूरा गरेको हो ।

अन्तिम बलमा नेपाललाई २ रन आवश्यक रहँदा स्कटल्याण्डका माइकल लिस्कलाई कप्तान रोहितले छक्का प्रहार गरेका थिए ।

कप्तान रोहित ७४ रन बनाउँदै नट आउट रहे। उनले ९८ बल खेलेर ५ चौका र २ छक्का प्रहार गरे ।

इशान पाण्डेले ६१ बलमा ५५ रन बनाए। उनले ५ चौका र २ छक्का हाने। इशानको एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो खेल हो भने पहिलो अर्धशतक हो।

ओपनर कुशल भुर्तेलले २७ बलमा २८ रन जोडे। उनले ४ चौका र १ छक्का प्रहार गरे ।

अर्का ओपनर आशिफ शेखले २९ रन बनाए। उनले १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

बलिङतर्फ मार्क वाटले २ विकेट लिए भने ब्रान्डन मिकमलेनले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको स्कटल्याण्डलाई नेपालले ३९.१ ओभरमा अल आउट गरी १९४ रनमा रोकेको थियो ।

त्यस क्रममा ललित राजवंशीले चार विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए ।

लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए। उनले १० ओभर बलिङमा ४७ रन खर्चिए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए ।

स्कटल्याण्डका लागि ब्रान्डन मिकमलेनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरी ७३ रन बनाए। माइकल इङ्लिसले ७२ बलमा ५१ रन जोडे ।

ओपनर जर्ज मुन्सीले २१ र मार्क वाटले २० रन बनाए ।

स्कटल्याण्डविरूद्ध जारी सिरिजको पहिलो खेलमा नेपाल डिएलएस मेथडबाट २ रनले  पराजित भएको थियो ।

दोस्रो खेलमा अमेरिका विरूद्धको खेलमा नेपालले १९६ रनको लक्ष्य पूरा गरेको थियो ।

योसँगै नेपाल लिग-२ अंक तालिकामा दुई स्थान माथि उक्लिएको छ। यसअघि सातौं स्थानमा थियो। स्कटल्याण्डविरूद्ध जितसँगै क्यानडा र नामिबियालाई उछिनेको हो ।

नेपालले अब बाँकी ९ खेल पनि जित्न सके सिधै विश्वकप छनोट खेल्न पाउनेछ ।

जारी सिरिजमा पनि नेपालले एक खेल खेल्न बाँकी छ। शुक्रबार नेपालले सिरिजको अन्तिम खेल अमेरिकासँग खेल्नेछ ।