१४ जेष्ठ २०८३, बिहीबार

सहभागीतामूलक बाली प्रजनन सम्बन्धी कृषक पाठशाला प्रशिक्षक प्रशिक्षण तालिम कोल्टीमा सम्पन्न ।


सर्मिला रोकाया, बाजुरा

बाजुराको बुढीनन्दा नगरपालिका–२, कोल्टीमा सहभागीतामुलक बाली प्रजनन सम्बन्धी कृषक पाठशाला प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

जर्मन सरकारको आर्थिक सहयोग र वेल्ट हंगर हिल्फे (WHH) को प्राविधिक सहयोग मा KCDCमुगु, FWEAN, नेपाल र Local Initiatives for Biodiversity, Research and Development (LI-BIRD) ली-बर्ड संस्थाद्वारा गत शुक्रवार देखि सञ्चालन भएको तालिम आज सम्पन्न भएको हो ।
पश्चिमी पहाडी नेपालका महिला साना किसान तथा नागरिक समाजका सरोकारवालाहरुका लागि उत्थानशील स्थानीय खाद्य प्रणाली (ईम्पावर) परियोजनाका प्रमुख प्रभाकर जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुढीनन्दा नगरपालिका वडा नं. १० का वडाध्यक्ष तथा कार्यवाहक नगरप्रमुख नन्दबहादुर रोकाया प्रमुख अतिथिका रहनुभएको थियो ।

किसानका खेतबारीमै कृषक पाठशालामार्फत रैथाने तथा स्थानीय बालीहरूको अध्ययन, अनुसन्धान तथा स्थानीय हावापानी अनुकूल बालीको विकास, सुधार र विस्तार गर्ने उदेश्यले सञ्चालन भएको तालिम सम्पन्न भएको प्रशिक्षक विष्णु भुसालले जानकारी दिनुभयो । उहाँले तालिममा जैविक विविधता, सहभागितामुलक बाली प्रजनन् का विभिन्न विधिहरु जस्तै सहभागितामुलक जातिय सुधार, सहभागितामुलक जातिय विकास र सहभागितामुलक जातिय छनोट तथा सामुदायिक बीउ बैंक लगायतका विषयमा प्रशिक्षण प्रदान गरीएको बताउनुभयो ।

गत जेठ ८ गतेदेखि सञ्चालन भएको तालिममा बाजुराको बुढीनन्दा नगरपालिका र मुगुको खत्याड गाउँपालिकाका २३ जना अगुवा कृषक र १२ जना कृषि प्राविधिकहरूको सहभागिता रहेको थियो । कृषक तथा प्राविधिकहरुले तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् ।
सहभागीका तर्फबाट बोल्दै बुढीनन्दा नगरपालिकाका नरिलाल विश्वकर्माले केही कुरा पढेर र केही अनुभवबाट सिकिने भएकाले कृषक पाठशाला तालिम प्रभावकारी रहेको बताउनुभयो । उहाँले आफ्ना पुर्खादेखि कृषि पेशामा आबद्ध भएकाले सिकेको ज्ञान व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्य सहभागीहरूले समेत स्थानीय बाली संरक्षण, बीउ व्यवस्थापन तथा कृषकको क्षमता अभिवृद्धिमा यस्ता तालिमले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

६ दिन सम्म सञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नन्दबहादुर रोकायाले यस्ता तालिमलाई केवल औपचारिक रूपमा नलिई व्यवहारिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभयो । विभिन्न संघ–संस्थाबाट तालिम सञ्चालन भए पनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै उहाँले रैथाने बालीको उत्पादन र उपभोग बढाउन यस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रशिक्षक विष्णु भुसालले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै कृषक पाठशाला सहज रूपमा सञ्चालन गर्न सकिने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारले रैथाने बाली प्रवर्द्धनमा कृषक पाठशालालाई जोड्न सके बाली संरक्षण, उपयोग तथा अनुसन्धानमा थप टेवा पुग्ने बताउनुभयो ।

ईम्पावर परियोजनाका कृषि अधिकृत विक्रम आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन गर्दै परियोजना प्रमुख प्रभाकर जोशीले नेपालको रैथाने बाली, जैविक विविधता तथा कृषि प्रविधिको विकासका लागि परियोजनाले मार्गचित्र तयार गरेको जानकारी दिनुभयो। उहाँले सहभागीतामूलक बाली प्रजनन कार्यक्रमले प्रयोगशालाका वैज्ञानिक र वास्तविक खेतबारीका बैज्ञानिक (किसान) लाई एउटै थलोमा जोड्न नयाँ अभ्यासका रूपमा काम गरिरहेको उल्लेख गर्नुभएको छ ।

बाजुरा र मुगुका सहभागीहरुले स्थानीय खाद्य प्रणालीलाई सुदृढ बनाउन रैथाने बाली संरक्षण तथा कृषकको सीप विकास अत्यन्त आवश्यक रहेको बताएका छन् ।