पाल्पा -रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका पाल्पाका तीन जनाको परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्।
तिनाउ गाउँपालिका–२, झ्याङ्ला चिसापानीका ३४ वर्षीय रमेश थापा बेपत्ता भएको २४ दिनसम्म कुनै खबर नआएपछि परिवारले शनिबार हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।
थापाकी श्रीमती इन्जला जीसी, ७५ वर्षीय बुबा जुद्धबहादुर थापालगायत परिवारका सदस्यले दोभान (कचल) खोलाको बन्चरे पहाड घाटमा उनको अन्तिम संस्कार गरेका हुन्। थापाका चार वर्षीय छोरा छन्।
रमेशको खोजीका लागि परिवारले चितवन, गैँडाकोट, गोरखा, कास्कीलगायत विभिन्न स्थानमा पुगेर खोजी गरेको थियो। परिवारले नुवाकोट र काठमाडौंसम्म पुगेर आफन्त तथा सम्बन्धित निकायसँग पनि जानकारी लिएको थियो।
जिल्ला प्रशासन कार्यालय पाल्पाले रमेशलाई सम्पर्कविहीनको सूचीमा राखेको थियो। सम्बन्धित कम्पनीबाट समेत उनको अवस्थाबारे पुष्टि भएपछि काजकिरिया सुरु गरिएको उनका दाजु सूर्य थापाले बताए। उनका बुबा जुद्धबहादुरले भैरहवा पुगेर डीएनए परीक्षणका लागि नमुना समेत दिएका थिए।
रमेशले बुटवलको बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई)बाट प्राविधिक शिक्षा अध्ययन गरेका थिए। प्राविधिक सीपका आधारमा विभिन्न जलविद्युत् आयोजनामा काम गर्दै आएका उनी पछिल्लो समय रसुवास्थित लाङटाङ हाइड्रोपावरमा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए। उक्त आयोजनामा काम थालेको सात महिना मात्रै भएको थियो।
परिवारका अनुसार भदौ १० गतेसम्म उनी नियमित काममै थिए। त्यसपछि आएको बाढीमा उनी परे वा अन्यत्र पुगे भन्नेबारे परिवारले अहिलेसम्म कुनै जानकारी पाउन सकेको छैन।
यसैगरी, भोटेकोशी बाढीमा बेपत्ता तानसेन नगरपालिका–७, लामडाँडाकी ३५ वर्षीया निलम कार्कीको पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जरका रूपमा कार्यरत कार्कीको सामाजिक रीतिरिवाजअनुसार १७ दिनपछि कुशको शव बनाएर कालीगण्डकी नदीमा दाहसंस्कार गरिएको आफन्त यामबहादुर कार्कीले बताए। निलमका बुबा सूर्यबहादुर किरियामा बसेका छन्।
त्यस्तै, तानसेन नगरपालिका–३, बसन्तपुर तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३, वइघाका तिलबहादुर राना (तिलक) को पनि कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो। राना स्याङ्जाको बेलाटारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत थिए।