काठमाडौँ – सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप तथा लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्या समाधान गर्न नयाँ प्रणालीमार्फत छपाइ सुरु गरेको हो।
नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रिया थप छिटो, सहज र सेवामुखी बनाउने अपेक्षा गरिएको छ। ईडीएलभीआरएसमा अपलोड भएका सेवाग्राहीका विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र त्यहाँबाट लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको विभागले जनाएको छ।
सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ। सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ।
यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइको काम सुरु गरेको छ।
प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइको व्यवस्था मिलाइएको छ।
नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु भएसँगै प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गरी सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको विभागले जनाएको छ।