काठमाडौं — भोटेकोशी नदीमा गत १० भदौमा आएको विनाशकारी बाढीले नुवाकोट, रसुवा र धादिङका विभिन्न बस्तीमा ठूलो जनधनको क्षति पुर्यायो। बाढीले घर, जग्गा, सम्पत्ति र जीविकोपार्जनका आधार मात्रै बगाएन, धेरै मानिसलाई गहिरो मानसिक आघातसमेत दिएको छ। विपद् आएको झन्डै तीन महिना बितिसक्दा पनि प्रभावित क्षेत्रका बासिन्दा त्यसको त्रासबाट बाहिर निस्कन सकेका छैनन्।
बाढीका कारण परिवारका सदस्य गुमाएका, घरबारविहीन भएका र भविष्य अनिश्चित बनेका व्यक्तिमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको छ। त्रिशूली अस्पतालका अनुसार पछिल्लो समय चिन्ता, अनिद्रा, निराशा तथा अन्य मानसिक समस्या लिएर उपचारका लागि आउने बिरामीको संख्या बढेको छ।
अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार यसअघि दैनिक २० देखि २५ जनासम्म मानसिक स्वास्थ्य समस्या भएका बिरामी आउने गरेकामा अहिले उक्त संख्या बढेर ३५ देखि ४० पुगेको छ।
बाढीको प्रत्यक्ष प्रभाव भोगेका विदुर नगरपालिका–रानीस्वाँराका ४० वर्षीय सुब्बा तामाङ यसको एक उदाहरण हुन्। बाढीका बेला उनी त्रिशूली बजारनजिकै मच्छापोखरीको बिजुरास्थित दिदीको घरमा थिए। उक्त घटनामा उनका भिनाजु बाढीले बगाए भने दिदीको घरसहित सम्पूर्ण सम्पत्ति नष्ट भयो।
घटनापछि तामाङमा मानसिक समस्या देखिन थालेको परिवारका सदस्यले बताएका छन्। उनी राति निद्राबाट झस्किएर उठ्ने, चिच्याउने र बाढी आएको भन्दै भाग्न खोज्ने गर्छन्। कहिलेकाहीँ नदी थुन्न जानुपर्ने भन्दै अरूलाई समेत बोलाउने गरेको उनका काका राजकुमारले बताए।
तामाङका अनुसार बाढीको घटनाले उनको पारिवारिक र आर्थिक अवस्था पनि अस्तव्यस्त बनाएको छ। पेसाले डकर्मी रहेका उनी पहिले मिस्त्री काम गरेर परिवारको खर्च चलाउँथे र छोराछोरीलाई पढाउँथे। तर मानसिक स्वास्थ्य बिग्रिएपछि नियमित काम गर्न नसक्दा परिवारको आम्दानी रोकिएको छ। उनकी श्रीमती सुन्न नसक्ने अवस्थाकी छिन् भने आर्थिक कठिनाइका कारण छोराछोरीले समेत पढाइ छाड्नुपरेको परिवारले जनाएको छ।
परिवारका सदस्यले अवस्था जटिल बन्दै गएपछि उनलाई उपचारका लागि त्रिशूली अस्पताल पुर्याएका हुन्।
बाढीले घर र खेतीयोग्य जमिन गुमाएका विदुर नगरपालिकाकी ६५ वर्षीया चन्द्रकुमारी खत्रीको परिवार पनि अहिले कठिन परिस्थितिमा छ। आठ सदस्यीय उनको परिवार अंगुटारमा कोठा भाडामा लिएर बसिरहेको छ। बाढीपछि उनलाई राति राम्रोसँग निद्रा नलाग्ने समस्या देखिएको छ।
उनका श्रीमान् फोक्सोको क्यान्सरबाट पीडित छन् र काठमाडौंमा नियमित केमोथेरापी गराइरहेका छन्। एकपटक उपचार गराउँदा करिब एक लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। अहिलेसम्म २१ पटक केमोथेरापी गराइसकेको परिवारले जनाएको छ।
बाढीले खेतीयोग्य जमिनसमेत बगाएपछि परिवारको आम्दानीको मुख्य स्रोत गुमेको खत्रीले बताइन्। उनका जेठा छोरा खेतीपाती गरेर घरखर्च चलाउँदै आएका थिए। तर जमिन नै नरहेपछि उनी पनि बेरोजगार बनेका छन्। बुढेसकालमा एकपछि अर्को समस्या थपिँदा जीवनयापन झन् कठिन भएको उनको भनाइ छ।
बाढीपीडितको मानसिक समस्या बढ्नुमा भौतिक क्षतिसँगै भविष्यप्रतिको अनिश्चितता पनि प्रमुख कारण बनेको छ। सरकारले विपद्पछि विस्थापित परिवारलाई छ महिनाभित्र अस्थायी आवास र दुई वर्षभित्र स्थायी पुनःस्थापनाको व्यवस्था गर्ने घोषणा गरेको थियो। तर प्रभावित परिवारका अनुसार अहिलेसम्म पुनःस्थापनाको कामले अपेक्षित गति लिन सकेको छैन।
घरबार गुमाएका परिवार कहाँ बस्ने, कसरी जीविकोपार्जन गर्ने र बालबालिकाको पढाइ कसरी निरन्तरता दिने भन्ने अन्योलमा छन्। सरकारले पुनःस्थापनाका लागि सुरक्षित स्थान निर्धारण गर्न नसकेको भन्दै पीडितहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
बाढीमा बेपत्ता भएका व्यक्तिलाई सरकारले अझै मृत घोषणा नगर्दा परिवारले अन्त्येष्टिका लागि पाउनुपर्ने राहत तथा क्षतिपूर्ति लिन नसकेको गुनासो छ। त्यस्तै, फेला परेका शव परिवारलाई हस्तान्तरण गर्न ढिलाइ भएको र डीएनए परीक्षणको प्रतिवेदनसमेत प्राप्त नभएको पीडित परिवारको भनाइ छ। सरकारले घोषणा गरेको घरभाडा सहायता पनि उपलब्ध नभएको उनीहरूको आरोप छ।
पुनःस्थापनामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै त्रिशूलीका केही बाढीपीडितले कोलानीस्थित नेपाल विद्युत् प्राधिकरणको जग्गामा पाल टाँगेर बस्न थालेका छन्। पुनर्वास, मृतकका परिवारलाई आर्थिक सहयोग र घरभाडा सहायता उपलब्ध गराउन माग गर्दै उनीहरूले यस्तो कदम चालेका हुन्।
नेपाल मानसिक अस्पतालका पूर्वनिर्देशक तथा मनोचिकित्सक डा. अनन्त अधिकारीले त्रिशूली अस्पताल, नुवाकोटको तारकेश्वर गाउँपालिकाका स्वास्थ्य संस्था र रसुवाको धुन्चे अस्पतालमा पुगेर प्रभावितको उपचार गरेका थिए। उनका अनुसार बाढीपीडितमध्ये धेरैमा विपद्पछिको मानसिक तनाव अर्थात् पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) का लक्षण देखिएका छन्।
पीटीएसडी अत्यन्तै भयावह वा पीडादायी घटना भोगेपछि अथवा प्रत्यक्ष देखेपछि उत्पन्न हुन सक्ने मानसिक स्वास्थ्य समस्या हो। यसका कारण व्यक्तिमा बारम्बार नराम्रा सपना आउने, विगतका घटना सम्झेर डर लाग्ने, निरन्तर चिन्ता भइरहने र सामान्य गतिविधिसमेत असहज महसुस हुनेजस्ता लक्षण देखिन सक्छन्।
डा. अधिकारीका अनुसार बाढीले परिवारका सदस्य, घर, जग्गा र जीवनभरको कमाइ गुमाएका मानिसमा भविष्यप्रतिको चिन्ता थपिएको छ। कतिपय परिवारका सदस्य अझै बेपत्ता रहेकाले उनीहरू शोक र अन्योलमा जीवन बिताइरहेका छन्।
उनले प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य सेवाको पहुँचसमेत कमजोर रहेको बताए। बाढीले औषधि र चिकित्सकीय कागजात बगाएका कारण नियमित उपचार प्रभावित भएको तथा कतिपय बिरामी स्वास्थ्य संस्थासम्म पुग्न नसकेको उनको भनाइ छ।
बाढीमा श्रीमान् बेपत्ता भएकी एक महिलाले श्रीमान्को सपना बारम्बार देखिने र त्यसकै कारण रातभर निदाउन नसक्ने समस्या सुनाएको अनुभव पनि डा. अधिकारीले गरेका थिए।
त्रिशूली अस्पतालका मनोचिकित्सक डा. सन्देश उपाध्यायका अनुसार कतिपय बिरामीलाई पानी बग्ने सामान्य आवाजले समेत बाढीको त्रासदी पुनः सम्झाउने गरेको छ। धारो खोल्दा, नुहाउँदा वा पानी बगिरहेको देख्दा उनीहरूमा डर र बेचैनी बढ्ने गरेको उनले बताए।
मानसिक स्वास्थ्यप्रतिको सामाजिक नकारात्मक धारणा र लाजका कारण धेरै मानिस उपचारका लागि अस्पताल जान हिचकिचाउने गरेका छन्। अधिकांश बिरामी आफैँ अस्पताल नआएर परिवारका सदस्यले अवस्था गम्भीर भएपछि मात्रै उपचारका लागि ल्याउने गरेको डा. उपाध्यायको भनाइ छ।
विज्ञहरूका अनुसार विपद्पछि देखिने मानसिक स्वास्थ्य समस्याको समाधान औषधि उपचारमा मात्र सीमित हुनु हुँदैन। प्रभावित परिवारलाई सुरक्षित आवास, रोजगारी, शिक्षा र जीविकोपार्जनका अवसर उपलब्ध गराउनु पनि उत्तिकै आवश्यक छ।
वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायका अनुसार विपद्को असर सबै व्यक्तिमा एउटै समयमा देखिँदैन। कसैले घटनापछि छिट्टै आफूलाई सम्हाल्न सक्छन् भने कसैलाई त्यसको वास्तविकता स्वीकार गर्न लामो समय लाग्न सक्छ।
सरकारले राहत र पुनःस्थापनामा ढिलाइ गर्दा पीडितको निराशा र मानसिक तनाव थप बढ्न सक्ने उनले बताए।
उनका अनुसार विद्यालय छाड्न बाध्य भएका बालबालिकालाई पुनः विद्यालय फर्काउने, घर गुमाएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्ने, क्षतिग्रस्त घर पुनर्निर्माणमा सहयोग गर्ने र व्यवसाय गुमाएकालाई पुनः सञ्चालनका लागि सहायता उपलब्ध गराउनुपर्छ। साथै प्रभावित क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्नु पनि आवश्यक छ।
डा. कपिलले पीडितमा बढ्दै गएको निराशा गम्भीर अवस्थामा आत्महत्याको जोखिमसम्म पुग्न सक्ने चेतावनी दिँदै सरकारले पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताए।