काठमाडौं । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएपछि लुम्बिनी प्रदेशका पर्यटन व्यवसायी तथा उद्योगी उत्साहित भएका छन्। यस सहमतिले लामो समयदेखि अपेक्षित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने सम्भावना बढाएको उनीहरूको विश्वास छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार जारी नेपाल–भारत संयुक्त वक्तव्यको आठौँ बुँदामा हाल एकतर्फी रहेको बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति उल्लेख गरिएको छ।
संयुक्त वक्तव्यअनुसार उक्त हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न आवश्यक कार्यविधि टुंग्याउने तथा नागरिक उड्डयनसँग सम्बन्धित अन्य प्रस्तावमा छलफल गर्न दुवै देशका प्राविधिक टोलीबीच परामर्श हुनेछ।
नेपालले लामो समयदेखि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सहज हुने गरी भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको थियो। पछिल्लो सहमतिले विशेषगरी रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सकारात्मक वातावरण बन्ने अपेक्षा गरिएको छ।
विमानस्थल उद्घाटन भएको लामो समय बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा यस क्षेत्रका पर्यटन तथा होटल व्यवसायी निराश छन्। विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए लुम्बिनी भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढ्ने र आसपासका जिल्लाको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने उनीहरूको अपेक्षा छ।
होटल तथा पर्यटन क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गरेका व्यवसायीहरू विमानस्थल प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा आफ्नो लगानी जोखिममा परेको बताउँदै आएका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार बी३४५ काठमाडौं हुँदै भैरहवा र लखनउ जोड्ने हवाई मार्ग हो। यसले भारतको दिल्ली तथा त्यसभन्दा पश्चिमका गन्तव्यबाट नेपाल आउने विमानलाई समेत सहज बनाउनेछ।
नेपालले लामो समयदेखि उक्त रुटलाई दुईतर्फी सञ्चालन गर्न माग गर्दै आएको उनले बताए। यो मार्ग दुवैतर्फी भएपछि भारतको दिल्ली वा पश्चिमी क्षेत्रबाट आउने विमानले लखनउ र अयोध्या हुँदै भैरहवा प्रवेश गर्न सक्नेछन्।
साहका अनुसार नयाँ व्यवस्थाले भैरहवा र पोखरा आउने विमानको उडान समय करिब १५ देखि २० मिनेटसम्म घटाउन सक्छ। यसबाट इन्धन खपत, उडान सञ्चालन खर्च र समयको बचत हुनेछ। अन्ततः वायुसेवा कम्पनीको सञ्चालन लागत घट्दा यात्रुले तिर्नुपर्ने हवाई भाडामा समेत सहुलियत हुन सक्ने उनको भनाइ छ।
उडान समय कम हुनु वायुसेवा कम्पनीका लागि आर्थिक रूपमा लाभदायक हुने भएकाले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न उनीहरू आकर्षित हुन सक्ने साहले बताए।
यद्यपि, हवाई मार्ग उपलब्ध हुँदैमा वायुसेवा कम्पनीले स्वतः उडान सुरु नगर्ने उनको भनाइ छ। त्यसका लागि स्थानीय पर्यटन व्यवसायी र सरोकारवालाले पनि सहकार्य गर्नुपर्ने उनले जोड दिए।
उनका अनुसार उडान सञ्चालन गर्न इच्छुक कम्पनीसँग व्यावसायिक साझेदारी गर्नुपर्ने र पर्याप्त यात्रु उपलब्ध हुने विश्वास दिलाउन आवश्यक छ। यात्रु संख्या कम भए पनि उडान सञ्चालन गर्नुपर्ने अवस्थामा कम्पनीलाई आर्थिक तथा व्यावसायिक सहयोग उपलब्ध गराउनु महत्त्वपूर्ण हुने उनले बताए।
यसले भैरहवा र पोखरालाई मात्रै नभई पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गर्ने विमानको हवाई आवागमनसमेत सहज बनाउन सहयोग पुग्ने साहको भनाइ छ। साथै, विमानको इन्धन खपत र सञ्चालन व्यवस्थापनमा सुधार आउनुका साथै उडान सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने उनले बताए।
वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलले विभिन्न छुट तथा सुविधा उपलब्ध गराउँदै आएको पनि उनले जानकारी दिए।
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाउने विषय लामो समयदेखि चर्चामा रहे पनि ठोस प्रगति हुन नसकेको बताए।
दुई देशबीच भएको पछिल्लो सहमतिले यस क्षेत्रको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ। राजनीतिक तहमा सहमति हुनु महत्त्वपूर्ण उपलब्धि भए पनि यसको वास्तविक लाभ कार्यान्वयनपछि मात्रै देखिने उनले बताए।
थापाका अनुसार भारतले विमानलाई कुन उचाइबाट आवागमन गर्न अनुमति दिन्छ भन्ने विषय यसका लागि महत्त्वपूर्ण हुनेछ। भारतले अत्यधिक उचाइबाट मात्रै उडान गर्नुपर्ने व्यवस्था गरेमा भैरहवा विमानस्थलले अपेक्षित लाभ लिन नसक्ने उनको भनाइ छ।
त्यस्तै, विमानस्थलमा जडान गरिएका आईएलएस र आरएनपीएआर प्रविधि सञ्चालनका लागि आवश्यक सहजीकरण भारतले गर्नुपर्ने उनले बताए। उनका अनुसार हवाई मार्ग उपलब्ध हुनु मात्रै पर्याप्त छैन, त्यसलाई व्यावहारिक रूपमा उपयोग गर्न सक्ने वातावरण पनि आवश्यक छ।
मधेश मानवअधिकार गृह (माहुरी होम), कपिलवस्तुका अध्यक्ष रविन्द्रनाथ ठाकुरले यसलाई ऐतिहासिक सहमतिको संज्ञा दिएका छन्।
उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए रुपन्देहीसँगै कपिलवस्तु, नवलपरासी र पश्चिम नेपालका अन्य जिल्लाले समेत लाभ लिन सक्नेछन्। हवाई सेवा विस्तार हुने आशाले व्यवसायीमा नयाँ उत्साह थपिएको उनले बताए।
भैरहवाबाट भारतका विभिन्न सहर तथा तेस्रो मुलुकमा नियमित उडान हुन सके धार्मिक पर्यटनमा उल्लेख्य वृद्धि हुने ठाकुरको विश्वास छ। यसले लुम्बिनी आउने पर्यटकका साथै मुक्तिनाथलगायत धार्मिक गन्तव्यमा जाने यात्रुलाई समेत सहजता प्रदान गर्ने उनले बताए।
त्यस्तै, पर्यटन व्यवसायी कृष्णप्रसाद अधिकारी (सागर)ले हवाई मार्ग दुईतर्फी सञ्चालन गर्ने सहमतिले यस क्षेत्रको पर्यटन विकासमा सकारात्मक संकेत दिएको बताए। तर सहमतिलाई व्यवहारमा उतार्नु नै मुख्य चुनौती रहेको उनको भनाइ छ।
उनका अनुसार विमानस्थल सञ्चालनका लागि हवाई मार्गसँगै भिसा सेन्टर, आवश्यक पूर्वाधार र अन्य सेवा सुविधाको विकासमा पनि ध्यान दिनुपर्छ। सबै पक्षबीच समन्वय र सहकार्य हुन सके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने उनले बताए।
समग्रमा, हवाई मार्ग दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि नयाँ सम्भावना खोलेको छ। तर यसको वास्तविक उपलब्धि प्राविधिक कार्यविधि, भारतको हवाई अनुमति, पूर्वाधार व्यवस्थापन र नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि मात्रै देखिनेछ।