४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026

रास्वपाले भोटेकोशी बाढीपीडितको डीएनए परीक्षण र मृत्यु प्रमाणपत्र प्रक्रिया छिटो गर्न माग


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाको तत्काल डीएनए परीक्षण गर्न सरकारसँग आग्रह गरेको छ।

आइतबार सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले लामो समयदेखि बेपत्ता रहेका र जीवित हुने आशा नरहेका व्यक्तिका परिवारलाई कानुनी प्रक्रिया पूरा गरी मृत्यु प्रमाणपत्र उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको हो।

बैठकमा सरकारमा सहभागी पार्टीका पदाधिकारी तथा सदस्यहरूले भोटेकोशी विपद्पछिको खोजी, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणबारे जानकारी गराएका थिए।

रास्वपाले मृत्यु प्रमाणपत्र जारी गर्ने कानुनी प्रक्रिया पूरा भएपछि पीडित परिवारले पाउने राहत तथा अन्य सरकारी सुविधाबाट वञ्चित नहुने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।

राष्ट्रसंघीय महासभामा भोटेकोशीको विषय उठाउन निर्देशन

बैठकले संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन जाने प्रधानमन्त्री बालेन्द्र शाह, परराष्ट्रमन्त्री शिशिर खनाललगायतको टोलीलाई भोटेकोशी विपद्का बहुआयामिक पक्ष अन्तर्राष्ट्रिय मञ्चमा उठाउन निर्देशन दिएको छ।

साथै बदलिँदो राजनीतिक परिस्थिति, नेपालको समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वमञ्चमा नेपालको भूमिकाबारे नेपालको धारणा स्पष्ट रूपमा राख्न आग्रह गरिएको रास्वपाले जनाएको छ।

मधेशको संगठनबारे प्रारम्भिक प्रतिवेदन

बैठकमा पार्टीका संयोजक तथा सहमहामन्त्री हरि ढकालले मधेश प्रदेशको सांगठनिक अवस्था तथा कार्यसम्पादन अडिटसम्बन्धी प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदनमा संगठनको अवस्था र कार्यसम्पादनको समीक्षा गरिएको तथा आगामी दिनमा संगठनलाई प्रभावकारी बनाउने विषयमा अध्ययन भइरहेको रास्वपाले जनाएको छ।

विभिन्न आयोग तथा विभागमा जिम्मेवारी

सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिँदै अधिवक्ता हरिचन्द्र भट्टराई, सुशीला सिंखडा, रामचन्द्र कार्की, शान्ता थापा, नन्दन तिमिल्सिना, रोहन बोहजू, भविन्द्र राई, सन्तोष आचार्य, सन्तो बिसुङ्खे र श्वेता कुमारीलाई सदस्य नियुक्त गरेको छ।

ज्ञानेन्द्र मल्ललाई युवा, खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजंग कार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठ नियुक्त भएका छन्।

बैठकमा नवमनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले सभापति लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।

स्थगित पार्टी गतिविधि पुनःसञ्चालन

भोटेकोशी विपद्का कारण स्थगित गरिएका पार्टीका आधिकारिक गतिविधि पुनःसञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

‘हामी गुनासो सुन्छौं’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया लगायतका सांगठनिक तथा जनसम्पर्क कार्यक्रम अघि बढाइने रास्वपाले जनाएको छ।

वाग्लेको भारत भ्रमणबारे ब्रिफिङ

बैठकमा अर्थमन्त्री तथा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता तथा आर्थिक कूटनीतिसँग सम्बन्धित विषयमा सचिवालयलाई जानकारी गराएका थिए।

यसरी बैठकले भोटेकोशी विपद्पछि खोजी, पहिचान, राहत र पुनःस्थापनाका विषयसँगै पार्टीका स्थगित गतिविधि पुनःसञ्चालन तथा विभिन्न आयोग र विभागमा जिम्मेवारी बाँडफाँटसम्बन्धी निर्णय गरेको छ।