काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ।
जलवायु परिवर्तनका बढ्दो प्रभावलाई मध्यनजर गर्दै बदलिँदो आवश्यकता र राष्ट्रिय हितअनुसार वातावरण तथा जलवायु कूटनीतिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को संरचना तयार गरिएको हो। उक्त शाखाको नेतृत्व उपसचिवले गर्ने व्यवस्था गरिएको छ।
नेपालले जलवायु परिवर्तन र वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय सहभागिता जनाउँदै आएको छ। ती प्रयासलाई थप समन्वित र संस्थागत बनाउन नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गर्नेछ।
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रममा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
उनले नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जलवायु कूटनीतिका विषयमा निरन्तर काम गर्दै आए पनि अब त्यसलाई थप व्यवस्थित र संस्थागत बनाउन आवश्यक रहेको बताए।
मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप) लगायतका अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागितामा मात्र केन्द्रित भएर जलवायु कूटनीति अघि बढाउन पर्याप्त नहुने बताए। मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर वातावरण कूटनीतिलाई निरन्तर अघि बढाउन शाखा स्थापना गरिएको उनको भनाइ छ।
हाल शाखामार्फत काम अघि बढाइने र भविष्यमा आवश्यकता तथा कार्यबोझका आधारमा यसको संस्थागत संरचनालाई थप सुदृढ गर्न सकिने मन्त्रालयले जनाएको छ।
जलवायु परिवर्तनका प्रभाव तथा विपद्का घटनासँग सम्बन्धित विषयमा मात्र नभई नियमित रूपमा जलवायु कूटनीतिका प्राथमिकता, नीति र पहललाई अघि बढाउँदै लैजानुपर्नेमा पनि मन्त्रालयले जोड दिएको छ।