काठमाडौं । घरेलु भूमिमा जारी २०औँ एसियाली खेलकुद (एसियाड)मा आयोजक जापानले स्वर्ण पदकसहित उत्कृष्ट सुरुवात गरेको छ ।
पुरुष व्यक्तिगत ट्रायथलनमा जापानका ३० वर्षीय ताकुमी होजोले स्वर्ण पदक जित्दै आइची–नागोया एसियाडको पहिलो स्वर्ण आयोजक राष्ट्रलाई दिलाएका हुन् ।
आइतबार भएको प्रतिस्पर्धामा होजोले निर्धारित दूरी ५२ मिनेट ५६ सेकेन्डमा पूरा गरे । उनले चीनका झाङ सुइरुईलाई ९ सेकेन्डले पछि पार्दै स्वर्ण जिते । कजाकिस्तानका अरलान झानाबाय १५ सेकेन्डले पछि पर्दै कांस्य पदकमा सीमित भए ।
ट्रायथलनमा ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड समावेश थियो । मिकावा खाडीमा भएको पौडीमा होजो चौथो स्थानमा रहेका थिए भने साइकलतर्फ पाँचौँ स्थानमा पुगेका थिए । अन्तिम ५ किलोमिटर दौडमा भने उत्कृष्ट प्रदर्शन गर्दै उनले स्वर्ण आफ्नो नाममा गरे ।
दौडको सुरुवातमा होजो र झाङबीच कडा प्रतिस्पर्धा भएको थियो । अन्तिम चरणमा गति बढाएका होजोले झाङलाई पछि पार्दै घरेलु दर्शकमाझ स्वर्ण जित्न सफल भए ।
यो होजोको एसियाली खेलकुदमा दोस्रो स्वर्ण हो । यसअघि उनले तीन वर्षअघि चीनको हाङझाउमा भएको एसियाडमा मिश्रित रिलेमा जापानलाई स्वर्ण दिलाएका थिए ।
होजोले गत वर्ष यही स्थानमा भएको एसियाडको परीक्षण ट्रायथलनमा समेत पहिलो स्थान हासिल गरेका थिए । घरेलु मैदान र परिचित मार्गको अनुभवलाई उपयोग गर्दै उनले यसपटक पनि उत्कृष्ट प्रदर्शन गरे ।
स्वर्ण जितेपछि होजोले आफू प्रतियोगिताका लागि निकै उत्साहित रहेको र राम्रो लयमा रहेको प्रतिक्रिया दिएका छन् । वर्षाको सम्भावना रहे पनि मौसमले साथ दिएको तथा सुरुवातदेखि नै आफू राम्रो लयमा रहेको उनले बताएका छन् ।
यससँगै आइची–नागोया एसियाडमा जापानले पदक तालिकाको सुरुवात नै स्वर्ण पदकबाट गरेको छ ।