सर्मिला राेकाया
बाजुराको बुढीनन्दा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । स्वास्थ्य शाखा बुढीनन्दाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत प्रत्येक बालबालिकाको खोपमा पहुँच सुनिश्चित गर्दै खोपबाट बचाउन सकिने रोगहरूको नियन्त्रण तथा उन्मूलन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियान सफलतापूर्वक सम्पन्न भएपछि नगरपालिकालाई घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वैशाख ६ गतेदेखि १४ गतेसम्म नगरपालिकाका १० वटै वडामा घरधुरी सर्वेक्षण सञ्चालन गरिएको थियो । सर्वेक्षणमा जन्मदेखि १५ महिनासम्मका ३ सय ५३ जना, १६ देखि २३ महिनासम्मका २ सय ४ जना र २४ देखि ५९ महिनासम्मका ९ सय ३५ जना बालबालिकाको खोप अवस्थाको बारेमा अध्ययन गरिएको थियो ।
सर्वेक्षणका क्रममा १६ देखि २३ महिनासम्मका १ जना तथा २४ देखि ५९ महिनासम्मका २ जना बालबालिका पूर्ण रूपमा खोपबाट वञ्चित रहेको तथा १६ देखि २३ महिनासम्मका ५ जना र २४ देखि ५९ महिनासम्मका ७ जना बालबालिकाले आंशिक खोप मात्र प्राप्त गरेको भेटिएको थियो । पहिचान भएका सबै बालबालिकालाई खोज तथा खोप अभियान र नियमित खोप सेवामार्फत आवश्यक खोप प्रदान गरिएपछि तथ्यांक प्रमाणीकरण तथा भेरिफिकेसनका आधारमा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको शाहीले बताउनुभयो ।
कार्यक्रममा तथ्यांक फोकल पर्सन लोकेन्द्रप्रसाद जोशीले स्वागत मन्तव्य राख्दै विगतका वर्षझैँ यस वर्ष पनि पूर्णखोप सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँले पालिकाभित्र पाँच वर्षमुनिका १ हजार ४ सय ९२ जना बालबालिका रहेको र खोज तथा खोप अभियानका क्रममा पूर्ण रूपमा खोप नलगाएका ३ जना तथा आंशिक खोप लगाएका १२ जना बालबालिका फेला परे पनि आवश्यक खोप प्रदान गरी पूर्णखोप सुनिश्चितता कायम गरिएको जानकारी दिनुभयो ।
बुढीनन्दा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख नन्दबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष शाह, वडा नं. १ का वडा अध्यक्ष मानबहादुर कार्की, वडा नं. ६ का वडा अध्यक्ष गजेन्द्रबहादुर शाही, वडा नं. ७ का वडा अध्यक्ष अशोक दानीलगायत अतिथी रहनुभएको कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
“पूर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका राजु देवकोटाले समुदायस्तरमा खोप सुनिश्चित गर्न स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै समयमै सूचना आदानप्रदान र स्वयंसेविकाको सम्मानमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्वास्थ्यकर्मी सुशिला कुमारी गिरीले खोप कार्यक्रमको प्रभाव सकारात्मक देखिए पनि अभिभावक तथा समुदायस्तरमा थप जनचेतनाको आवश्यकता रहेको बताउनुभयो। उहाँले बसाइँसराइका कारण बालबालिका खोपबाट छुट्ने समस्या देखिएकाले सम्बन्धित स्थानबाटै नियमित खोप सेवा लिन अभिभावकलाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख शाहीले धार्मिक तथा सांस्कृतिक आस्थाका कारण कतिपय क्षेत्रमा स्वास्थ्यसम्बन्धी चुनौती देखिने गरेको उल्लेख गर्दै समयमै उपचार र खोप सेवाप्रति सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नहुने बताउँदै जहाँ बसे पनि खोप कार्ड साथमा राखी नजिकको स्वास्थ्य संस्थाबाट नियमित खोप सेवा लिन अभिभावकलाई आग्रह गर्नुभयो ।
वडा नं. ६ का वडा अध्यक्ष गजेन्द्रबहादुर शाहीले खोप कार्यक्रमको सकारात्मक प्रभावका कारण विगतमा देखिने धेरै रोगहरू अहिले न्यून बन्दै गएको बताउँदै समुदायस्तरमा स्वास्थ्य सचेतना विस्तार गर्न सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै कार्यवाहक नगर प्रमुख रोकायाले विगतमा स्वास्थ्य सेवा र उपचार सुविधा अभावको अवस्थालाई स्मरण गर्दै हाल गर्भावस्थादेखि नै उपलब्ध खोप सेवा नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँले खोप सेवाबाट कुनै पनि बालबालिका नछुटून् भन्ने उद्देश्यका साथ निरन्तर खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद व्यक्त गर्दै उनीहरूको सेवा–सुविधामा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा खोप अभियान सफल बनाउन योगदान पु¥याउने १३ जना स्वास्थ्यकर्मी र २० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो। साथै नियमित खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गरेको भन्दै पाण्डुसैन आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई प्रथम स्थानसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।