सर्मिला राेकाया, बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुमा स्थानीय स्रोत साधनको सदुपयोग गर्दै आयआर्जन र स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले अल्लोका कपडा तथा विभिन्न सामग्री उत्पादन र प्रशोधनसम्बन्धी तालिम सञ्चालन भइरहेको छ । नगरपालिकाको उद्यम विकास शाखाको आयोजनामा गत जेठ ८ गतेदेखि तालिम सञ्चालन गरिएको हो ।
“उद्यम गरौँ, आत्मनिर्भर बनौँ” भन्ने नाराका साथ सञ्चालन भइरहेको तालिममा वडा भित्रका दलित तथा सिमान्तकृत समुदायका नागरिकलाई प्राथमिकतामा राखिएको छ । तालिममार्फत स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थको उपयोग गरी सीप विकास, उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको उद्यम विकास सहजकर्ता टंकबहादुर रोकायाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिममा १९ जना महिला र १ जना पुरुष गरी २० जनाको सहभागिता रहेको छ । प्रशस्त मात्रामा अल्लो पाइने कुरु क्षेत्रमा फुर्सदको समयलाई उत्पादनमूलक कार्यमा प्रयोग गरी अतिरिक्त आम्दानी गर्न सकून् भन्ने उद्देश्यले विशेषगरी महिलाहरूलाई तालिममा सहभागी गराइएको हो । घरायसी काम र वनजंगलमा मात्र सीमित रहने महिलाहरूलाई स्थानीय स्रोतबाटै आम्दानी गर्ने अवसर सिर्जना गरी अल्लोबाट कपडा तथा अन्य सामग्री उत्पादन गरी महिलाहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।
सिमचौर र अदानसिंह अल्लो भाँग्रो उत्पादन तथा प्रशोधन केन्द्रमा सञ्चालन भइरहेको तालिममा सहभागी देहा बोहराले तालिमले आफूलाई नयाँ सीप सिक्ने अवसर प्रदान गरेको बताउनुभयो । उहाँले हालसम्म अल्लो पकाउने, सुकाउने, धुने, धागो बनाउने, कात्ने लगायतका प्रक्रिया सिकिसकेको जानकारी दिनुभयो । दुई वर्षदेखि अल्लो उत्पादन तथा प्रशोधन केन्द्रमा काम गर्दै आउनुभएकी उहाँले व्यवस्थित रूपमा तालिम पाउनु भएको छ ।
नगरपालिकाका प्रवक्ता जंगवीर रोकायाका अनुसार विगतमा अल्लो र भाँगो प्रशोधनका अधिकांश काम हातैले गर्नुपर्ने भएकाले धेरै समय र श्रम खर्चिनुपर्ने अवस्था थियो । सोही अवस्थालाई मध्यनजर गर्दै आधुनिक मेसिनसहित एक महिने तालिम सञ्चालन गरिएको हो । उत्पादनको गुणस्तर र परिमाण दुवै बढाउन आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताउँदै नगरपालिकाले सीपमूलक तालिम सञ्चालन गरेको हो ।
स्थानीय उत्पादनलाई जिल्ला बाहिरसम्म प्रशोधन तथा प्रवद्र्धन गर्दै आउनुभएका प्रशिक्षक अदानसिंह रोकायाले अल्लोबाट निर्मित कपडा स्वास्थ्यका दृष्टिले समेत उपयोगी हुने बताउनुभयो । उहाँले अल्लो उद्योगलाई व्यवस्थित रूपमा विकास गर्न सके ग्रामीण क्षेत्रमा रोजगारीका थप अवसर सिर्जना हुने धारणा व्यक्त गर्नुभयो ।
अल्लो नेपालको पहाडी तथा हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण प्राकृतिक रेशा हो । यसबाट कपडा, झोला, टोपी, सल, सजावटी सामग्री लगायत विभिन्न वस्तु उत्पादन गर्न सकिन्छ । पछिल्लो समय वातावरणमैत्री तथा प्राकृतिक उत्पादनप्रति बढ्दो आकर्षणका कारण अल्लोजन्य सामग्रीको माग समेत बढ्दै गएको छ ।
स्थानीय स्तरमा उपलब्ध स्रोत र सीपलाई उत्पादनसँग जोड्दै महिलाहरूको आर्थिक सशक्तीकरण तथा उद्यमशीलता विकासमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको यो तालिमले बुढीनन्दा नगरपालिका–४ कुरुका बासिन्दालाई आत्मनिर्भरतातर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ । साथै, अल्लो उद्योगको संरक्षण, प्रवद्र्धन र व्यवसायीकरणमार्फत स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ ।